सपनामाथि परीक्षा

लालबहादुर ऐरी

 

संसदीय अङ्क गणितका हिसाबले एमाले अध्यक्ष केपी शर्मा ओली सुविधाजनक सरकारको नेतृत्वमा छन् । बुहदलीय व्यवस्था बहालीपछि सरकार बनाउने खेल धेरै भए । जसको मूलआधार संसदीय अङ्कगणित थियो भने आवरणभित्र पार्टीभित्रको कलह, दरबार, भूराजनीतिक अवस्था पनि उत्तिकै जिम्मेवार थिए । ओलीको अहिलेकै अवस्था हेर्दा उनले यी कुनै पनि कारणले सत्तामा अवरोध हुने अवस्था छैन । ओली जति जनमतले शक्तिशाली छन् उत्तिकै पार्टीभित्र पनि । प्रदेश सरकारमा उनको पडक उत्तिकै मजबुद छ भने स्थानीय तहमा पनि एमाले नै अगाडि छ ।
राष्ट्रियताको मुद्दाले उनलाई भूराजनीतिको आकर्षक पात्रको रूपमा उभ्याएको छ । आफूप्रतिको भूराजनीतिक प्राथमिकतालाई जोगाउन सके ओलीले सरकार सञ्चालनमा कुनै अवरोध बेहोर्नुपर्ने छैन । जुन माओवादीसित सत्ता सहकार्य गर्दै पहिलोपटक प्रधानमन्त्री बन्दा उनलाई आई परेको थियो । माओवादीसँगको पार्टी एकताले ओलीलाई आर्जन भएको शक्ति हेर्दा अबको पाँच पाँच वर्षे कार्यकारी यात्रामा उनलाई कुनै बाधा बेहोर्नुपर्ने छैन । ओलीले पाएका यस्ता सुविधा २०४६ साल यताका कुनै पनि सरकारले पाएका छैनन् । नेपाली काँग्रेसले पटक–पटक जनमत पाए पनि पार्टीभित्रको अन्तरकहलले यस्ता सुविधाको प्रयोग गर्न पाएन, जसका कारणले मुलुकले चाहेको स्थितरता कायम हुन सकेन । विगतमा एमालेको अवस्था पनि यस्तै थियो । अन्य पार्टीको शक्तिभन्दा पनि आफ्नै कारणले नौ महिना बढी एमालेका कुनै पनि सरकारले काम गर्न सकेनन् । तत्कालका लागि ओली यी सबै खतराभन्दा माथि छन् ।
संविधानसभाबाट संविधान निर्माण गर्ने २००७ सालदेखिको सपना पूरा भएपछि अब मुलुकको समृद्धिको यात्रा शुरु भएको छ । जनताले छानेका प्रतिनिधिले लेखेको संविधानले व्यवस्था गरेअनुसार सङ्घात्मक सरकारका संरचना बनिसकेका छन् । जनताको घरदैलोमा शक्तिसम्पन्न सरकार निर्माण भएको छ । तीन वटै तहको निर्वाचन सफल भएसँगै शान्ति प्रक्रियापछिको मात्रै होइन २००७ सालपछिकै राजनीतिक सङ्क्रमणको अन्त्य भएको छ । सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधान र दुई वटा संविधानसभापछि संविधान निर्माणको यात्राबाट नेपालले विश्वलाई नै ठूलो पाठ सिकाएको छ । अब यसपछिको नेपालको समृद्धिको यात्रा पनि विश्व समुदायका लागि नमुना नै हुनेछ । आमजनताले सोचेको जस्तो समृद्धि भयो भने यो परिर्वतन विश्व समुदायका लागि अझै उदारहण हुनेछ । विगतमा भएका परिर्वतनको अनुभूति जनताले गर्न पाएका छैनन् । जनता अब त्यस्तो नहोस् भन्ने चाहन्छन् । मुलुकको आगामी यात्राको केन्द्रबिन्दुमा प्रधानमन्त्री केपी ओली छन् । उनका हरेक कदम–कदमले मुलुकको स्थिरता, जनताको आशा–भरोसा र समृद्धिको आकाङ्क्षाको प्रतिनिधित्व गर्ने छन् । जनताको म्यान्डेट योभन्दा अरू केही भन्ने कुरामा ओलीको दृढता आवश्यक छ ।
ओली यस्तो बेलामा मुलुकको कार्यकारी बनेका छन् कि समृद्धिबाहेक करिब–करिब मुलुकमा अन्य समस्या तत्कालका लागि केही छैन । समस्यालाई टुक्रा–टुक्रा पारेर नहेर्ने हो र एकै शब्दमा भन्दा ओली सरकारले एउटै उद्देश्य र लक्ष्यलाई आत्मसात् गर्नुपर्ने छ त्यो हो मुलुकको समृद्धि । अव योबाहेक मुलुक आगाडि कुनै एजेन्डा बाँकी छैनन् । चुनावमा जाँदा ओली, ओलीको पार्टी र अन्य पार्टीले भनेका पनि यही नै हुन् । अब मुलुकको विकासबाहेक अरू कुनै एजेन्डा छैनन् । नेपालको समृद्धिको आधारशीला निर्माण गर्ने सौभाग्य ओलीलाई मिलेको छ । संविधानले व्यवस्था गरेअनुसार सङ्घीयता पूर्ण रूपमा कार्यान्वयनमा आइपछिको पहिलो सरकार, मुलुकको ७० वर्ष लामो सङ्क्रमण अन्त्य भएपश्चात्को पहिलो सरकार । यो सरकारले निर्माण गर्ने विकासको जगले अबको नेपाल कस्तो बन्ने दूरगामी प्रभाव राख्ने छ ।
करिब १७ महिना अगाडि मुलुकको कार्यकारीबाट बर्हिगनम भएका ओलीले बाँडेका सपना जनताले बिर्सिने मौका नपाउँदै उनी फेरि मुलुकको कार्यकारी बनेका छन् । त्यो पनि सानदार संसदीय शक्तिका साथ । नेपालको आफ्नै पानीजहाज, घर–घरमा ग्यासको पाइपलाइन, नेपालमा रेल आदि इत्यादीका सपना ओलीले अस्ति भर्खर मात्रै बाँडेका हुन् । यी सपनाबाट उम्किन ओलीलाई न २०६३ अगाडिको अवस्था र समय छ, न २०६३ पछाडिको समय नै । कारण र पृष्ठभूमि दर्शाउन, न सशस्त्र युद्ध नै छ न राजनीतिक सङ्क्रमण नै । ओलीका यसपालिका सपना २०६२÷०६३ अगाडि दलले गरेका राजनीतिक बाचा बन्नुहुँदैन । २०४६ पछिका आमनिर्वाचनमा नेकपा एमाले र नेपाली काँग्रेसलगायतका दलका घोषणापत्र पनि बन्नुहुँदैन । पखाला लाग्दा जीवनजल नपाउने जाजरकोटको एक निहत्था मतदाता ओली अब सत्ताबाट बाहिरिँदै गर्दा तलाउमा कागजको ढुङ्गाले जिस्काएको हेर्न चाहदैन । समयमा नुन र चामल नपाउने बझाङको नागरिकले ओली सत्ताबाट बाहिरिँदै गर्दा हावादारी प्रधानमन्त्रीको रूपमा ब्रोडसेडका पेपेरले ठुल्ठूला कार्टुन बनाएको हेर्न चाहेका छैनन् । सुहागरात मनाउन नपाउँदै हातमुख जोर्ड विदेशिने एउटा ठिटोसँगै खाडी छिरेको साथीको शव बाकसमा नेपाल पठाएको अब हेर्न चाहन्न । ओलीलाई प्राप्त जनताको म्यान्डेड पनि सायद यही हो ।
ओलीले सरकार निर्माण र सरकारमा रहिरहन जति सुविधा प्राप्त गरेका छन् । समृद्धिबाट उम्किन सक्ने त्यत्ति नै असुविधाविहीन छन् । ओलीले आफूलाई सिद्ध गर्नुपर्ने छ, कि उनी जनताको आकाङ्क्षामाथि खेलेर सत्तामा पुग्ने चलाख राजनीतिज्ञ मात्रै होइन । उनले बाँडेका सपनाभित्र पूरा गर्न सक्ने अन्तरनिहीत आधार र अठोट थियो । उनले बोलेका कुराबाट प्राप्त मतको सम्मान गर्ने योजना थियो र उनले त्यो पूरा गरेर देखाए ।
ओलीले आफ्नो स्वास्थ्य अवस्थालाई इङ्कित गर्दै धेरैपटक भनेका छन् ‘मसँग धेरै समय छैन । ’ त्यसैले आमनागरिक पनि चाहन्छन् उनीसँग जति समय हुनेछ– आफूले बाँडेका सपनालाई फगत् राजनीतिक आश्वासन होइन भन्ने प्रमाणित गर्ने छन् । जीवनको उत्तराद्र्धमा ओलीले आफैँले बाँडेका सपनामाथि परीक्षा दिँदैछन् । उत्र्तीण हुने नहुने उनको योजना र दृढताको ट्रेलर हेर्न अब धेरै समय छैन । आफैँले निर्माण गरेको प्रश्नमा ओली उत्र्तीण भएको हेर्न चाहना जनताको छ । उनको सफलता उनीप्रतिको सद्भावभन्दा विकास र समृद्धिप्रतिको जनताको आकाङ्क्षाका रूपमा बुझ्न गाह्रो छैन । अबको यात्राले उनलाई इतिहासमा कसरी दर्ज गर्ला त्यो उनको कुरा हो तर समृद्धिको जनचाहनामा फेरि खेलबाड नहोस् । जनताको समृद्धिको माथिको भावनात्मक खेलबाड गर्ने छुट यसपाला केपी ओली सरकारलाई हुने छैन । यसअघिका पटक–पटकका परिर्वतनले जनताको संवेदनामा आँच पु¥याएको तीतो सत्य नदोहोरियोस् । प्रधानमन्त्री केपी ओलीको यो कार्यकाल उनका सपना वरिपरि नै घुम्नेछ । उनको यो कार्यकाल आफ्ना सपनाको भारबाट छुट पाउने छैनन् । सपनाले ओलीलाई होइन, ओलीले सपनालाई जित्नुमै मुलुकको हित छ । किनकि समृद्धि ओलीको निहीत सपना मात्रै होइन, अबको यात्रा र आमनेपालीको चाहना हो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds