• १३ वैशाख २०८१, बिहिबार

टुँडिखेलमा सोनाम ल्होछारको रमझम

blog

शिवा तामाङ

काठमाडौँ, माघ ९ गते । माघ शुक्ल प्रतिपदाको दिन मनाइने सोनाम ल्होछार आइतबार विविध सांस्कृतिक, धार्मिक विधिसहित मनाइएको छ। चन्द्रपात्रोअनुसार मनाइने यस पर्वलाई तामाङ समुदायले घरघरमा पूजापाठ र टीका, आशीर्वाद, शुभकामना साटासाट गरी मनाएका हुन्। 

समुदायले नयाँ वर्ष सुरु भएको अवसरमा गत वर्ष गरेको लेनदेनको हिसाब–किताब मिलानसमेत गरेर नयाँ कपडा, मीठा परिकार र आगामी वर्ष शुभ, धनधान्य होस् भन्ने कामनासहित लामा, बोन्बो र ताम्बाद्वारा पूजापाठ गरेर मनाउँछन्।  मानव जातिले पशुपालन र कृषिको सुरुवात गरेदेखि नै नयाँ अन्न भित्र्याएको खुसियालीमा सबै अन्न, गेडागुडीको पिठो प्रकृति देवतालाई चढाएर मात्र खाने परम्परालाई पनि सोनाम ल्होछारको उल्लेख्य गतिविधिका रूपमा लिइन्छ। 

नेपाल तामाङ घेदुङका कार्यवाहक महासचिव जगतमान दोङले ल्हो भन्नाले तामाङ समुदायमा वर्ग (ल्हो) गन्ने परम्परा छ, हरेक वर्ष वर्ग बदलिने परम्पराअनुसार यस वर्ष बाघ वर्गलाई बिदाइ गरेर बिरालो वर्गको स्वागत गर्दै सोनाम ल्होछारको सुरुको दिन टुँडिखेलमा महोत्सवकै आयोजना गरेर मनाइएको बताउनुभयो। 

उहाँले वर्ग (ल्हो)को चक्रमा १२ महिनाका लागि विभिन्न १२ वटा पशुपन्छीको नाम राखिएको जानकारी दिँदै तामाङ समुदायले देश–विदेशमा आफ्नो भेषभूषा र परम्पराको प्रवर्धन गर्ने अवसरका रूपमा सार्वजनिक स्थानमा महोत्सव र हरेक घरमा खुसियाली साटासाट गर्ने दिनका रूपमा मान्ने बताउनुभयो।  ल्होछारको अवसरमा राजधानीमा आयोजना गरिएको कार्यक्रममा नेपाल तामाङ घेदुङले प्रदान गरेको तामाङ ग्योइकाई पुरस्कारबाट एक लाख पाँच हजार रुपियाँसहित बुद्ध योन्जन र तेज तामाङ सम्मानित हुनुभयो। 

त्यसैगरी पर्वतारोही शर्मिला स्याङ्दन, प्रमुख सेनानी विमला तामाङ, उपरथी डा. आसबहादुर तामाङ, पाइलट धर्मिला तामाङलाई सम्मान गरिएको थियो। ल्होछार महोत्सवमा कुन्ती मोक्तान, आनिछोइङ डोल्मा, इन्दिरा लामा, चन्द्र दोङ, चन्द्रकुमार मोक्तान, राजु लामा, बुद्धि तामाङलगायतले गीत, नृत्य र हास्यव्यङ्ग्यको माध्यमबाट मनोरञ्जन दिनुभएको थियो।