आज राष्ट्रपति निर्वाचन: भण्डारी र राईबीच प्रतिस्पर्धा

Bidya-bhandari-Kumari-Laxmi-raiकाठमाडौँ, फागुन २९ गते । नेपालको संविधानको कार्यान्वयन गर्ने क्रममा मङ्गलबार नेपालको राष्ट्रप्रमुख अर्थात् राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपति पदमा निर्वाचित हुन कम्तीमा २६ हजार २५१ मतभार प्राप्त गर्नुपर्ने हुन्छ । राष्ट्रपति पदका लागि निर्वाचन हुन लागेको यो तेस्रो पटक हो । 

राष्ट्रपति पदका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राई प्रतिस्पर्धामा हुनुहुन्छ । राष्ट्रपति पदका लागि मङ्गलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानका लागि समय तोकिएको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदान सकिएलगत्तै मतगणना गरी मत परिणाम सार्वजनिक गरिने बताउनुभयो । यस निर्वाचनमा दोस्रो कार्यकालका लागि वर्तमान राष्ट्रपति भण्डारीले पुनः उम्मेदवारी दिनुभएको छ । उहाँलाई सत्तारुढ घटक नेकपा
(एमाले), नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल लगायत दलको समर्थन छ ।
राष्ट्रपति भण्डारीको उम्मेदवारीको प्रतिनिधिसमेत रहनुभएका एमाले नेता भानुभक्त ढकालले राष्ट्रपति पदमा निर्वाचित हुन सुविधाजनक बहुमत प्राप्त हुने अपेक्षा गरेको बताउनुभयो । राष्ट्रपति निर्वाचित हुन कुल मतदाताको कम्तीमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
यसैगरी, नेपाली काँग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसांसद कुमारीलक्ष्मी राईलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । उहाँ शहिद देवान सिंह राईकी छोरी हुनुहुन्छ । भोजपुर निवासी राईले अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्नुभएको छ । नेपाली काँग्रेसका अनुसार, राई नेपालको लोकतान्त्रिक आन्दोलनमा विगत पाँच दशकदेखि निरन्तर सक्रिय राजनीतिमा हुनुहुन्छ ।
विजयी हुन २६,२५१ मत आवश्यक
सङ्घीय–संसद्का ३३४ सदस्यमध्ये ३३१ सदस्य र सात प्रदेशका ५५० सदस्यमध्ये ५४९ सदस्यलाई मताधिकारको अधिकार छ । राष्ट्रियसभाका तीन र प्रदेशसभाका एक गरी चार सदस्यले मतदान गर्न पाउने छैनन् । तसर्थ सङ्घीय–संसद्का ३३४ र प्रदेशसभाका ५५० गरी जम्मा ८८४ सदस्यमध्ये ८८० जनालाई मात्रै मताधिकार रहेको छ । सङ्घीय–संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ छ । सङ्घीय–संसद्का मतदाताको जम्मा मतभार २६ हजार १४९ र प्रदेशसभाका ५४९ सदस्यको मतभार २६ हजार ३५२ गरी कुल मतभार ५२ हजार ५०१ हुन्छ ।
संवैधानिक व्यवस्थाअनुसार, राष्ट्रपति निर्वाचित हुन कुल मतभारको कम्तीमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने हुन्छ । दुई जना मात्रै उम्मेदवार रहेका र वर्तमान राष्ट्रपति भण्डारीलाई समर्थन गर्ने दल र सदस्यको सङ्ख्या हेर्दा पहिलो पटक नै एक उम्मेदवारलाई कम्तीमा ५० भन्दाभन्दा बढी मत प्राप्त हुने देखिएको छ ।
नागरिकतालाई मान्यता
निर्वाचन आयोगले मतदानका लागि निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई नागरिकता र मतदाता परिचयपत्रबाट पनि मतदान गर्न सकिने जनाएको छ । राष्ट्रपतिको निर्वाचनका लागि सङ्घीय–संसद्का सदस्यले हरियो र प्रदेशसभाका सदस्यले रातो रङ्गको मतपत्रमा मतदान गर्नुहुने भएको छ । दुई थरिका मतपत्रमा कुनै निर्वाचन चिह्न छैन र मतपत्रमा रहेका व्यहोरा मात्रै रङ्गीन छपाइ गरिएको निर्वाचन आयोगले जनाएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना