प्रज्ञा–प्रतिष्ठानको इतिहास प्रकाशित

काठमाडौँ, फागुन २८ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो ६० वर्षे इतिहासलाई समेटेर परिचयात्मक ग्रन्थ प्रकाशन गरेको छ । ‘नेपाल प्रज्ञा–प्रतिष्ठानका गौरवमय साठी वर्ष’ नामक उक्त ग्रन्थ प्रज्ञा–प्रतिष्ठानले आफ्नो हीरक महोत्सवका अवसरमा प्रकाशनमा ल्याएको हो । प्रज्ञा–प्रतिष्ठान, दर्शन विभाग प्रमुख प्रा दिनेशराज पन्तको संयोजकत्वमा उक्त ग्रन्थ तयार भएको प्राज्ञ शशि लुमुम्बुले जानकारी दिनुभयो । 

ग्रन्थमा विसं २०१४ देखि २०७४ सम्म प्रतिष्ठानले गरेका प्राज्ञिक गतिविधि तथा अनुसन्धनात्मकलगायत कार्यको चर्चा गरिएको छ । प्रतिष्ठानको स्थापना विसं २०१४ मा तत्कालीन राजा महेन्द्रले गरेका थिए । यस वर्ष प्रतिष्ठानले ६० वर्ष पूरा गरेको छ ।
प्राज्ञ प्रा जगत् प्रेक्षित, प्रा डा कुमारप्रसाद कोइराला, ज्ञानु अधिकारी र रमेश शुभेच्छुद्वारा लिखित उक्त ग्रन्थलाई चार खण्डमा विभाजन गरिएको छ । ग्रन्थमा प्रज्ञा–प्रतिष्ठानको गठन र स्वरुप, प्रतिष्ठान स्थापनाको पृष्ठभूमि र यसको विकासक्रम, अध्ययन–अनुसन्धान र प्रकाशन, प्रतिष्ठानले गरेका विविध सहयोग र अन्तर्राष्ट्रिय सम्बन्ध तथा प्रज्ञा पुरस्कार, कविता महोत्सव, नाटक महोत्सव, कला प्रदर्शनी आदि गतिविधि समेटिएको छ ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उक्त ग्रन्थबाट ‘प्रज्ञाको इतिहास झल्किने’ बताउँदै यसबाट प्रज्ञा–प्रतिष्ठानका समग्र पाटोबारे एकमुष्ट जानकारी पाइने बताउनुभयो । (रासस)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds