• १६ चैत २०८०, शुक्रबार

उद्यम विकासमा पालिकाको पहल

blog

बुलबुले समाचारदाता

सुर्खेत, माघ ९ गते । सुर्खेतको चौकुने गाउँपालिकाले उद्यम विकासमा जोड दिएको छ। विकासको मूल प्रवाहीकरणका लागि पालिकाले औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन तथा घरेलु उद्योग प्रोत्साहनको नीति लिएको छ। जसका लागि पालिकाले घरेलु उद्योगसँगको सहकार्यमा उद्यमीलाई तालिम र आवश्यक उपकरण उपलब्ध गराउने योजना अघि सारेको छ।

गाउँपालिकाका अध्यक्ष खड्ग विकका अनुसार स्थानीयस्तरमा उत्पादन भएका वस्तुलाई प्रशोधन र बजारीकरणमा सहज होस् भन्ने उद्देश्यले उद्यमीलाई तालिम तथा क्षमता अभिवृद्धि गर्न सात लाख रुपियाँ बजेट विनियोजन गरिएको छ। तालिमपश्चात् उद्यमीलाई मेसिन हस्तान्तरण गर्ने योजना रहेको छ। चौकुने बदाम उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ। त्यसलाई प्याकेजिङ गरेर गुणस्तरीय बनाउन तालिम सञ्चालन गर्न लागिएको हो। पालिकाले अहिले सञ्चालनमा रहेको उद्योगको खोजी र उद्यमीलाई आवश्यक तालिम प्रदान गरेर लघु तथा साना उद्योग स्थापना गर्ने लक्ष्य राखेको छ।

दैलेखको नारायण नगरपालिका र नौमूले गाउँपालिकामा पनि उद्यम क्षेत्रको विकासका लागि पहल थालिएका छन्। नारायण नगरपालिकामा डिमेघा लघु उद्यमको माध्यमबाट उद्यमीको पहिचान गर्ने कार्यको सुरुवात गरिएको जनाइएको छ। 

पालिकामा औद्योगिक ग्राम स्थापना गर्न विभिन्न प्रयास भइरहेको नगरप्रमुख लोमन शर्माले बताउनुभयो। अघिल्लो स्थानीय सरकारको नगरपालिकामा औद्योगिक ग्रामको अवधारणाअनुसार प्रक्रिया थाले पनि काम हुन सकेको छैन। चालू आर्थिक वर्षमा औद्योगिक ग्राम स्थापनाका लागि कार्यक्रम राखिएको शर्माले जानकारी दिनुभयो। नगरपालिकाले वडा नं. ६ मा रहेको बाह्रपत्थर सामुदायिक वनमा औद्योगिक ग्राम स्थापना गर्ने योजना रहेको जनाएको छ। 

नौमूले गाउँपालिकाले रोजगारीको अवसर सिर्जना गर्न साना तथा घरेलु उद्योगमा जोड दिएको छ। गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले स्थानीयस्तरमा उत्पादन हुने कच्चा पदार्थको प्रशोधन र बजारीकरणका लागि उद्योग सञ्चालनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। नौमूलेमा लघु उद्यम सञ्चालन गर्न चालू आर्थिक वर्षमा ५० लाख रुपियाँ बजेट छुट्याइएको छ।

सल्यानको सिद्धकुमाख गाउँपालिकाले चालू आर्थिक वर्षमा लघु उद्यम विकासका कार्यक्रममा जोड दिएको छ। पालिकाले लघु उद्यम तथा उद्यमीको पहिचान गरेर सीपमूलक तालिम प्रदान गर्ने योजना बनाएको हो। त्यसका लागि अहिले साना तथा लघु उद्यमीको विवरण सङ्कलनको कार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष भरत गिरीले जानकारी दिनुभयो।