• १६ चैत २०८०, शुक्रबार

स्थानीय तहका भवन आधुनिक शैलीमा निर्माण

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, माघ ९ गते । सिन्धुली जिल्लाका आठवटा स्थानीय तहले आधुनिक शैलीमा आफ्नै भवन निर्माण गरेका छन्।  दुई नगरपालिका र सातवटा गाउँपालिका रहेको सिन्धुली जिल्लाका अधिकांश पालिकाले प्रशासनिक भवन निर्माण गरेका हुन्। घ्याङलेख गाउँपालिकाले भर्खर प्रशासनिक भवन निर्माण सुरु गरेको जनाएको छ। 

दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोसी गाउँपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र तीनपाटन गाउँपालिकाले नयाँ भवन निर्माण गरेका हुन्। कमलामाई नगरपालिकाको पहिलेदेखि नै आफ्नै आधुनिक भवन छ।

तीनपाटन गाउँपालिकाको निर्माणाधीन सुविधासम्पन्न प्रशानिक भवन अन्तिम चरणमा पुगेको छ। गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरले भन्नुभयो, “तीन वर्षदेखि पाँच करोड ५३ लाख रुपियाँको लागतमा पालिकाको भवन धमाधम बनिरहेको छ। 

सम्झौताअनुसार निर्माण कम्पनीले गत असार २५ गते बुझाउनुपर्ने हो। विभिन्न कारणले ढिलाइ भयो, अब दुई/तीन महिनाभित्र भवन निर्माण पूरा भई नयाँ भवनबाट सेवा प्रवाह सुरु गर्छौं।”

उहाँका अनुसार कुल लागतमा दुई करोड १६ लाख रुपियाँ राष्ट्रिय योजना आयोगको सहयोग र बाँकी रकम गाउँपालिकाको आफ्नै लगानी रहेको छ। तीनपाटन गाउँपालिका–११, चकमकेमा रहेको सार्वजनिक जग्गामा भवन निर्माण गरिएको हो। अहिले कामचलाउ रूपमा गाउँपालिकाको सभा कक्षबाट सेवा प्रवाह भइरहेको छ।

सुरुमा पालिकाको केन्द्र रहेको चकमके बजारमा घर भाडामा लिएर सेवा प्रवाह गरिएको र वार्षिक १९ लाख रुपियाँसम्म भाडा बुझाउनु परेको थियो। भवन निर्माणपश्चात् एकीकृत सेवा प्रवाह हुने र सेवाग्राहीलाई समेत सहज हुने उहाँले सुनाउनुभयो। 

त्यस्तै दुधौली नगरपालिकाले आधुनिक शैलीको आफ्नै प्रशासनिक भवन निर्माण गरी सेवा प्रवाह सुरु गरेको छ। विषयगत कार्यालयको भवन निर्माण भइरहेको पालिकाले जनाएको छ। नगरपालिकाका अनुसार दुई ठाउँमा निःशुल्क जग्गा उपलब्ध भएकाले दुईतिर भवन बनाउनु परेको हो।

घ्याङलेख गाउँपालिकाले पाँच करोड ७७ लाख रुपियाँको लागतमा प्रशासनिक भवन निर्माण सुरु गरेको पालिकाका प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “तीन वर्षभित्र निर्माण पूरा गर्ने गरी ठेक्का सम्झौता भएको र बजेट सङ्घीय सरकारसँग मागेका छौँ।” 

गाउँपालिकाको सेवा प्रवाह सुरुमा विद्यालय भवनबाट गरिएकोमा अहिले वडा कार्यालयको भवनबाट प्रशासनिक कामको सेवा प्रवाह गरी काम चलाएको उहाँले बताउनुभयो। विषयगत शाखाहरू भने करिब तीन किलोमिटर टाढा डुम्रेमा रहेको आफ्नै भवनबाट सञ्चालन भइरहेको उहाँको भनाइ छ।

सुनकोसी गाउँपालिकाले छ महिनाअघि मात्रै आधुनिक नयाँ भवन निर्माण सम्पन्न गरी सेवा प्रवाह सुरु गरेको छ। मरिण गाउँपालिकाले डेढ वर्षअघि भवन निर्माण गरी सेवा प्रवाह गर्दै  आएको छ।