• ८ वैशाख २०८१, शनिबार

सत्तरी जनाले पाए आँखाको ज्योति

blog

मकवानपुर समाचारदाता

हेटौँडा, माघ ९ गते । नेपाली नागरिकले नेपालीकै सहयोगमा आँखाको ज्योति पाएका छन्। हेटौँडा सामुदायिक आँखा अस्पताल स्थापनाको १४ वर्ष पूरा हुँदै गर्दा आँखाको ज्योति गुमाएर असहज रूपमा जीवन व्यतीत गर्दै आएका मकवानपुर र बारा जिल्लाका नागरिकले नेपाली सहृदयीको सहयोगमा आँखाको ज्योति पाएका हुन्। 

यसअघि विदेशी नागरिक र संस्थाको सहयोगमा आँखा शिविर सञ्चालन हुँदै आएकोमा यो पटक काठमाडौँका माधवराज राजभण्डारी र राधिका राजभण्डारीको सहयोगमा मकवानपुरका दुई र बारा जिल्लाको एक स्थानमा आँखा शिविर सञ्चालन गरी मोतीबिन्दु भएका बिरामीको हेटौँडा सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया गरिएको हो। 

माधवराज र राधिकाका थाइल्यान्डमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका छोरा आशिषको स्मृतिमा उहाँहरूको सहयोगमा आँखा शिविर र मोतिबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो। 

अस्पतालका प्रमुख डा. सुनील थकालीले अस्पतालले इतिहासमा पहिलो पटक नेपालीकै पूर्ण सहयोगमा आँखा शिविर गरी मोतीबिन्दुको पहिचान भएका बिरामीको शल्याक्रिया गरिएको 

जानकारी दिनुभयो। उहाँका अनुसार मकवानपुरको बकैया गाउँपालिका–५, हेटौँडा उपमहानगरपालिका–१८ स्थित हर्नामाडी र बारा जिल्लाको प्रस्टोकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ८३० जनाको आँखा जाँच गरिएकोमा ८४ जना मोतीबिन्दुका बिरामी फेला परेका थिए। तीमध्ये मोतीबिन्दुका ७० जना  बिरामीको राजभण्डारी दम्पतीको सहयोगमा आँखाको शल्यक्रिया गरिएको हो।

उहाँले भन्नुभयो, “शल्यक्रियापछि आँखामा लगाएको पट्टी खोल्दा बिरामीको मुहारमा खुसियाली छाएको छ। गुमेको आँखाको ज्योति फर्किएको छ। यो नै गौरवको विषय हो।” राजभण्डारी दम्पतीले छोराको स्मृतिमा आँखाको ज्योति गुमाएकाको उपचारमा सहयोग गर्न पाउँदा गौरवान्वित भएको बताए। 

हेटौँडा सामुदायिक आँखा अस्पतालमा मधेश प्रदेशका जिल्लादेखि भारतीय नागरिकसमेत सेवा लिन आउँछन्। राजभण्डारी दम्पतीले छोराको स्मृतिमा आँखा शिविर, मोतीबिन्दुको शल्यक्रिया खर्चसहित अस्पतालमा हुने भिडियो कन्फरेन्स गर्न आवश्यक उपकरण खरिदका लागि पाँच लाख रुपियाँबराबरको चेक हस्तान्तरण गर्नुभएको छ।

नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धिलाल श्रेष्ठले सामान्य आँखा शिविर र मोतीबिन्दु भएकाको शल्यक्रियाका लागि विदेशी नागरिक र संस्थाको मुख ताक्नुपर्ने अवस्था अन्त्य गर्न नेपाली दाताको खोजी भएको भन्दै नेपालीकै सहयोगमा नेपालीका मोतीबिन्दुको शल्यक्रिया सम्भव रहेको बताउनुभयो। 

अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले मोतीबिन्दु भएका बिरामीको आँखाको शल्यक्रियामा आठदेखि १० हजार रुपियाँसम्म खर्च लाग्ने जानकारी दिनुभयो। उहाँले अस्पतालमा दैनिक तीन सयको सङ्ख्यामा बिरामी आँखा उपचारका लागि आउने गरेका छन् भन्नुभयो। अस्पतालले वार्षिक दुई हजार पाँच सय जनाभन्दा बढी मोतीबिन्दु भएका बिरामीको शल्यक्रिया गर्दै आएको छ।