समृद्धिका लागि बलियो सरकार (सम्पादकीय)

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुईतिहाइ सदस्यको विश्वासको मत प्राप्त गर्नुभएको छ । नेपालको संविधानको धारा ७६(२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेपछि ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम यही फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त ओलीले २५औँ दिन आइतबार प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिनुभएको हो । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पाँचवटा राष्ट्रिय पार्टी र स्वतन्त्र हैसियतका सांसदले आइतबार मतदान गर्दा प्रधानमन्त्रीका पक्षमा दुईतिहाइ मत परेको हो । 

पार्टीगत रूपमा भन्नुपर्दा प्रधानमन्त्री ओलीलाई राष्ट्रिय मान्यता प्राप्त पाँचमध्ये चारवटा दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनता पार्टी नेपाल र सङ्घीय समाजवादी फोरमको समर्थन प्राप्त भएको छ । प्रतिनिधिसभामा यी चार दलका २०७ सदस्य छन् । यसबाहेक प्रतिनिधिसभामा स्वतन्त्र हैसियत भएका सांसदको पनि समर्थन प्राप्त भएको छ । यसरी प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा दुईतिहाइभन्दा बढी सदस्यको समर्थन रहेको स्पष्ट हुन्छ तर माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुखमा निर्वाचित भइसक्नुभएको र राजपाका तर्फबाट निर्वाचित रेशम चौधरी हाल थुनामा रहनुभएकाले उहाँहरूले आइतबार मतदान गर्नुभएन । स्वतन्त्र हैसियतप्राप्त नयाँ शक्ति नेपालका बाबुराम भट्टराई विदेशमा हुनुभएकाले मतदानमा अनुपस्थिति रह्यो । भट्टराईको समर्थन कता छ भन्ने पनि स्पष्ट भएको छैन । प्रधानमन्त्रीको विपक्षमा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र स्वतन्त्र हैसियतका नेपाल मजदुर किसान पार्टीका सांसदको मत मात्र परेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा वाम गठबन्धनका नाममा चुनावी प्रतिस्पर्धा गरेका एमाले र माओवादी केन्द्रका मात्रै पनि १७४ सदस्य छन् । यो सङ्ख्या सामान्य बहुमतका लागि पर्याप्त भए पनि दुईतिहाइ चाहिं होइन । सरकारलाई दुई तिहाइभन्दा बढी सदस्यको समर्थन प्राप्त गर्न मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल र सङ्घीय समाजवादी फोरमले महत्वपूर्ण भूमिका निर्वाह गरे । पछिल्लो समयमा मधेसकेन्द्रित दल र वाम गठबन्धनबीच सम्बन्ध सुधार भएपछि मधेसकेन्द्रित दलले सरकारलाई समर्थन गरेका हुन् । मधेसकेन्द्रित दलले वामगठबन्धनका तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहनुभएकी विद्यादेवी भण्डारीलाई पनि मत दिने निर्णय गरेको छ । सभामुखको निर्वाचनमा सर्वसम्मत हुनु र वर्तमान सरकारलाई दुई तिहाइभन्दा बढी सदस्यको समर्थन रहनु सकारात्मक थालनी हो ।
वि.सं. २०५१ सालपछि कुनै पनि दलले सामान्य बहुमत ल्याउन नसकेको र यसै कारणले राजनीतिक अस्थिरता बढेको अवस्थामा दुई दलको गठबन्धनलाई बहुमत प्राप्त हुनु खुशीको कुरा हो । यसले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने आशा गर्नसकिन्छ । नागरिकले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि वाम गठबन्धनलाई प्रतिनिधिसभामा स्पष्ट बहुमत दिएका हुन् । जनता भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा छन् । जनताको यो भावनाविपरीत जानुहुँदैन । बहुमत प्राप्त भए पनि बढीभन्दा बढी दल र सांसदको समर्थन जुटाउनु र अन्य दललाई पनि सरकारमा सहभागी गराउने वाम गठबन्धनको प्रयासलाई प्रशंसा गर्नैपर्छ । यसैको फलस्वरुप सरकार बनाउन वाम गठबन्धनले प्राप्त गरेको सिट र सरकारलाई अन्य दलले दिएको समर्थनबाट सरकार बलियो भएको छ । सरकारको यो शक्तिलाई मुलुकको समृद्धिका लागि प्रयोग गर्नुपर्छ । संविधान कार्यान्वयनका लागि धेरै महìवपूर्ण कानुन निर्माण गर्नुपर्ने जिम्मेवारी यो संसद्को काँधमा छ । जनताको आकाङ्क्षा पूरा गर्न सरकार र संसद् अग्रसर हुनुपर्छ । यसले सरकारलाई स्वेच्छाचारी बनाउनुहुँदैन । राजनीतिक स्थायित्व, लोकतन्त्र, जनताको हित र मुलुकको समृद्धिका लागि पक्ष, विपक्षमा विभाजित नभई सबै एक भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । यसले मात्रै जनताको भावना र आकाङ्क्षा सम्बोधन गर्नसकिन्छ र मुलुकलाई समृद्धितर्फ अग्रसर गराउन सकिन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds