• ६ चैत २०८०, मङ्गलबार

पालिकालाई गुनासोसँगै सुझाव

blog

गाउँपालिकाद्वारा भनभनेमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रम। तस्बिर : रमेश विश्वकर्मा

गुल्मी समाचारदाता

गुल्मी, माघ ८ गते। गुल्मीको एक पालिकालाई त्यहाँका सेवाग्राहीले गुनासोसँगै सुझाव दिएका छन्। जिल्लाको मदाने गाउँपालिका–७, भनभनेका सेवाग्राहीले पालिकाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा गुनासोसँगै सुझाव दिएका हुन्। ९० जनाको सहभागी रहेको उक्त कार्यक्रममा सेवाग्राही तथा सरोकारवालाले पालिकालाई गुनासोसँगै सुझाव दिएका छन्।

गाउँपालिकाको वडा नम्बर–७ भनभनेका एकादेव पौडेलले पालिकालाई गुनासोसँगै सुझाव दिनुभयो। पालिकाले नयाँ जनप्रतिनिधि आएलगत्तै निर्णय भएको २० युनिटसम्मको विद्युत महसुल छुट सम्बन्धी जानकारी गराउन आग्रह गर्नुभयो। 

गाउँपालिकाको कार्यालयमा सहायता कक्ष स्थापनाको बारेमा सम्बन्धित पक्षले जानकारी दिनुपर्ने बताउनुभयो। “न्यायिक समितिमा पर्ने उजुरीको फैसला छिटो हुनुप¥यो।” उहाँले भन्नुभयो, “पालिकाले गरेको विभिन्न आर्थिक सहायताको बारेमा सबैलाई जानकारी हुनुपर्छ।” पालिकाले सोलार खरिद गर्ने भनेको विषय जानकारी दिन आग्रह गर्नुभयो। सोही वडाका गोविन्द पन्थीले सामुदायिक वन सम्बन्धि गाउँपालिकालाई सुझाव दिनुभयो। 

मदिरा व्यवसायी अशोक विश्वकर्माले मदिरा नियन्त्रण सम्बन्धि अनुगमन गर्दा सबैतिर समान रुपमा अनुगमन गर्नुपर्ने बताउनुभयो। सार्वजनिक शौचालय निर्माण गर्नेतर्फ पालिकालाई सुझाव दिनुभयो। 

पदमप्रसाद पौडेलले कृषि सम्बन्धि प्रश्न पालिकालाई प्रश्न गर्नुभयो। उहाँले कृषि औजार वितरण असारभन्दा पहिले गर्ने मिल्ने कि नमिल्ने भन्दै प्रश्न गर्नुभयो। पालिकामा दर्ता भएका बाख्रा फार्मले विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको कुनै सुनुवाइ नभएको देवबहादुर पराजुलीले गुनासो थियो। वडा नम्बर–७ वडा कार्यालय सचिवविहीन भएको गुनासो गर्दै छिटो वडा सचिव ल्याउन माग गर्नुभयो।

पूर्व जनप्रतिनिधि हुमप्रसाद पन्थीले २०/२५ हजारका योजनालाई रातो किताबमा नराख्न पालिकालाई सुझाव दिनुभयो। महिला स्वास्थ्य स्वयंसेविका जमुना पन्थीले अन्य पालिकाले जस्तै यहाँ पनि ६० वर्ष पुगेका स्वयंसेविकालाई मासिक प्रोत्साहन भत्ता स्वरुप एक हजार रुपियाँ दिने व्यवस्था मिलाउन सुझाव दिनुभयो। 

मुख्य जवाफदेही वक्ताको रुपमा रहनुभएका गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर, उपाध्यक्ष सरिता खड्का, वडा अध्यक्ष सन्तोष केसी, प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थी, सूचना अधिकारी ऋषिराम पोख्रेल तथा अन्य विषयगत शाखाका प्रमुखले सेवाग्राहीबाट आएको गुनासो एवम् सुझावलाई सम्बोधन तथा कार्यान्वयन गर्ने बताउनुभयो। सेवाग्राहीबाट आएको सुझावलाई पालिकाले सन्दर्भ सामग्रीको रुपमा लिएको पालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताउनुभयो।