• १५ चैत २०८०, बिहिबार

गहुँ आयातको कोटा वितरण

blog

काठमाडौँ, माघ ८ गते । छिमेकी मुलुक भारतबाट गहुँ आयात गर्न सरकारले उद्योगका लागि कोटा निर्धारण गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिलो चरणमा २४ मैदा उद्योगलाई ३० हजार मेट्रिक टन गहुँ आयात गर्न कोटा निर्धारण गरेको हो। 

गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भारतले पुस पहिलो साता चार महिनाभित्रमा आयात गरिसक्ने गरी नेपालका लागि ५० हजार मेट्रिक टन गहुँ निर्यातको अनुमति दिएको थियो। त्यसअनुसार पहिलो चरणको ३० हजार मेट्रिक टन गहुँ आयातका लागि कोटा निर्धारण गरिएको हो। गहुँ आयातको अनुमति पाएका उद्योगले आगामी चैत दोस्रो सातासम्म गहुँ आयात गरिसक्नुपर्नेछ।

रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा सङ्कटको सङ्केत देखिएपछि गत ३० वैशाखमा भारतले नेपालमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। लामो समयसम्म आयातमा प्रतिबन्ध लाग्दा बजारमा गहुँको अभाव भई मिल बन्द हुन थालेपछि उद्योगीले खुला गर्न माग गरेका थिए। 

उद्योगी व्यवसायीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत भारतलाई वार्षिक आठ लाख मेट्रिक टन गहुँ आयात गर्न माग गरेकोमा भारतले ५० हजार मेट्रिक टन मात्रै अनुमति दिएको हो। मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले भारतबाट गहुँ आयातका लागि २४ वटा मैदा उद्योगलाई अनुमतिका लागि कोटासहित परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिनुभयो। 

मैदा उद्योगहरूले आव २०७७/७८ मा उत्पादन गरेको मैदाको परिमाणको आधारमा उद्योगलाई दामासाही ७ प्रतिशतका दरले गहुँ आयातको कोटा वितरण गरिएको उहाँले जानकारी दिनुभयो। मैदा उत्पादनको आधारमा गरिएको कोटा वितरणमा न्यूनतम ८२ देखि अधिकतम दुई हजार ३७५ मेट्रिक टनसम्म गहुँ आयातको कोटा सिफारिस भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबभन्दा धरै रुपन्देहीको घराना फुड्स उद्योगले दुई हजार ३७५ मेट्रिक टन गहुँ आयातको कोटा पाएको छ भने सबभन्दा कम जय श्री फ्लोर मिल्स रुपन्देहीले ८२ मेट्रिक टन गहुँ आयातको अनुमति पाएको मन्त्रालयले जनाएको छ। बाँकी रहेको २० हजार मेट्रिक टन कोटाको गहुँ आयातका लागि थप छलफल भइरहेको मन्त्रालयले जनाएको छ। 

मन्त्रालयमा माग भएर आएका सबै उद्योगलाई दामासाही भाग लगाउने गरी मन्त्रालयले गृहकार्य गरिरहेको जनाएको छ। नेपाल फ्लोर मिल एसोसिएसनका अनुसार कच्चा पदार्थ अभावले गर्दा हाल मुलुकभर रहेको ३८ वटा मैदा मिल रहेकामा ५० प्रतिशत बन्द रहेका छन्। आठ महिनादेखि आयात नहुँदा बजारमा गहुँको अभाव हुँदा चोरी तस्करीबाट आएको गहुँले माग धानिरहेको व्यवसायीको भनाइ छ। 

सङ्घका अनुसार स्वदेशी मैदा उद्योगलाई वार्षिक १० लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने गरेकामा चार लाख मेट्रिक टन स्थानीय उत्पादन र बाँकी छ लाख मेट्रिक गहुँ आयात गर्नुपरेको छ। मैदा, आँटा, पास्ता, बिस्कुटलगायतका उत्पादन गहुँबाट हुने गर्छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०७८/७९ मा सात लाख १६ हजार हेक्टर क्षेत्रफलमा २१ लाख ४४ हजार ५६८ मेट्रिक टन भएको छ। आव २०७७/७८ मा सात लाख ११ हजार हेक्टरमा खेती भई २० लाख नौ हजार मेट्रिक टन उत्पादन भएको थियो।