• ६ वैशाख २०८१, बिहिबार

कालिगण्डकी करिडोर गण्डकी प्रदेशको लाइफलाइन: मुख्यमन्त्री अधिकारी

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, माघ ७ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कालिगण्डकी करिडोर सडक गण्डकी प्रदेशको लाइफलाइन रहेको बताउनुभएको छ। म्याग्दीको बेनीमा शनिबार सम्पन्न भएको सातौं म्याग्दी महोत्सवको औपचारिक कार्यक्रमको समापन गर्दै मुख्यमन्त्री अधिकारीले कोरलादेखि त्रिवेणीसम्मको सडक गण्डकी प्रदेशको लाइफलाइनको रुपमा रहेकोले यसलाई स्तरीय बनाइनुपर्ने बताउनभएको हो। 

तिब्बतसँगको व्यापारका लागि पनि यो सडक राम्रो हुनुपर्ने भएकोले त्यसलाई मुख्य प्राथमिकतामा राखेर अगाडि बढाइने अधिकारीको भनाइ थियो। नेपाल, भारत तथा चीन त्रिदेशीय व्यापारका लागि निकै महत्वपूर्ण यो सडक स्तरीय हुनुपर्ने उहाँको धारणा थियो।

आफ्नो गाउँ आफै बनाउनका लागि सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने बताउँदै गाउँघरमा रहेका खेतबारीमा उत्पादनतर्फ लगाउनुपर्ने धारणा राख्नुभएको थियो। आफ्नो भूमि जोगाउने तागत र शक्ति सबैमा छ भएको उहाँको भनाइ छ। 

उहाँले भारतको अयोध्यामा यहाँको कालिगण्डकीको शिला लगेर प्रतिस्थापन गर्ने कामका लागि पहल गरिएकोले त्यसले पनि पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा राख्नुभएको थियो। 

महामारीले गर्दा अत्तालीका उद्योगी तथा व्यापारी अहिले अत्तालिन नहुने भन्दै धैर्य गर्नुपर्ने बताउनुभयो। विद्युत् बिक्रीका लागि हामीले ठूलो क्षमताको प्रसारण लाइन निर्माण गर्नुपर्ने बताउनुभयो। 

सदरमुकाममा रहेको बेनी अस्पतालको बारेमा बोल्दै अधिकारीले पर्वतको कुस्मा र बागलुङको अस्पतालमा उपचार नभएर बेनीमा उपचार भएको जानकारी आफूसँग रहेको उहाँको भनाइ छ। 

५० शैय्याको अस्पताल स्वीकृत गरेर बजेटका लागि पनि पहल आफैले गरेको सम्झदै अधिकारीले बेनी अस्पतालको भवन ठेक्का लिएका निर्माण व्यवसायी रबि सिंहलाई निर्माणकार्य सक्न आग्रह गर्नुभयो। पूर्व स्वास्थ्यमन्त्री अधिकारीले निर्माण व्यवसायी सिंहलाई लक्षित गर्दै भन्नुभयो, ‘जनताको आँसु पुछ्ने काम पाउनुभएको छ। पूरा गर्नुस्।’

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले म्याग्दीको बेनी अस्पतालको भवनलाई पूर्णता दिनका लागि पहल गर्न आग्रह गर्नुभएको थियो। 

म्याग्दी महोत्सवको समापन समारोहमा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले आन्तरिक राजश्व कार्यालयले छापामार शैलीमा व्यापारी तर्साएको आरोप लगाउनुभएको थियो। उहाँले कर कार्यालयले व्यापारीसँग समन्वयभन्दा पनि तर्साउने काम गरेको आरोप लगाउनुभएको थियो। 

कटुवालले मुख्यमन्त्री खगराज अधिकारीसँग म्याग्दीको मालिका गाउँपालिकामा रहेको स्लेट(ढुङ्गा) खानी, रघुगङ्गा गाउँपालिकामा रहेको खरिढुङ्गा खानी जस्ता अन्य खानी उचित कानुनको अभावले प्रयोगमा आउन नसकेको बताउनुभएको थियो। साथै अध्यक्ष कटुवालले मालढुङ्गा–बेनी सडक खण्डको स्तरोन्नति गर्ने कार्य हुन नसक्दा जनताले उपभोग्य वस्तुमा प्रतिकिलो दुई रुपियाँ महँगो तिर्नुपरेको बताउनुभयो।

उहाँले महोत्सव सफल बनाउन  समय प्रदान गर्ने सबैलाई धन्यवाद दिनुभएको छ।