• १२ वैशाख २०८१, बुधबार

शिक्षकलाई तलब खुवाउन विद्यालयमा सटर निर्माण

blog

नेपालगञ्ज १८ मा विद्यालयका लागि वडा कार्यालयले निर्माण गरिदिएको पक्की सटर । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, माघ ६ गते । नेपालगञ्ज उपमहानगरपालिका –१८ मा रहेको माध्यमिक विद्यालय लग्दहवामा शिक्षकलाई तलब खुवाउन वडा कार्यालयले विद्यालयका लागि सटर निर्माण गरिदिएको छ । 

तराई–मधेश समृद्धि विकास कार्यक्रम अन्तर्गत प्राप्त ३५ लाख रुपियाँमा ६ कोठे पक्की सटर निर्माण सम्पन्न गरिएको वडा अध्यक्ष दीपक वर्माले जानकारी दिनुभयो । “नेपालगञ्जको मुख्य सडक सुर्खेतरोडमा रहेका कारण हालै निर्माण गरिएका सटरबाट विद्यालयले नियमित आम्दानी गर्नेछ,” वडाध्यक्ष वर्माले भन्नुभयो, “विद्यालयमा शिक्षक राख्न र अन्य शैक्षिक व्यवस्थापनमा भाडाबापत प्राप्त भएको रकम खर्च गरिनेछ ।” 

विद्यालयमा माध्यमिक तहमा शिक्षकको दरबन्दी अभाव भएका कारण पहिलो प्राथमिकता मावि तहको शिक्षक पदपूर्तिमा हुने वर्माले बताउनुभयो । वडा कार्यालयले कहिलेकाँही उपलब्ध गराउने आर्थिक सहयोगले शिक्षक राख्न दिगो नहुने भएकाले नियमित आम्दानीका लागि सटर निर्माण गरिदिएको वडा कार्यालयले जनाएको छ । 

वडा अध्यक्ष वर्माले विद्यालयको नियमित आम्दानीमा शैक्षिक सुधार हुन सक्ने देखिएकाले  अर्थ मन्त्रालयबाट विनियोजन भएको तराई–मधेश समृद्धि कार्यक्रम अन्तर्गतको ३५ लाख र विद्यालयको ३ लाख ५० हजार रुपियाँमा सटर निर्माण गरिएको बताउनुभयो । नेपालगञ्जकै पुरानोमध्येको मावि लग्दहवा ६ दशक पहिले सञ्चालनमा आएको हो ।  

वडाले यसवर्ष शैक्षिक पूर्वाधार विकास र गुणस्तरीय शैक्षिक व्यवस्थापनलाई प्राथमिकता दिने जनाएको छ । वडाले विभिन्न विद्यालयमा चालु आव. मा ५० लाखभन्दा बढी बजेट विनियोजन गरेको छ ।