मन्त्रीका अगाडि मागको थुप्रो

Minendra rijalसङ्खुवासभा, चैत २६ गते । जिल्लामा पहिलो पटक मन्त्री देखेर हर्षित भएका मादि नगरपालिका–६ का स्थानीयले सङ्खुवासभालाई राज्यले कम महत्व दिएको भन्दै गुनासो पोखेका छन् ।

मादि–६ मा निर्माण गरिएको देवढुङ्गाको उद्घाटन गर्न आउनुभएका सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालसँग स्थानीय वासिन्दाले यस्तो गुनासो पोखेका हुन् ।

उमेरले ७० नाघेका स्थानीय उत्तरकुमारी दाहालले राम्रो सडक नभएकोले सदरमुकाम जान नसकेको गुनासो पोख्नुभयो ।

बाटोमा स्वागत गर्न बसेका दाहालले भन्नुभयो, “राम मन्दिर – देवढुङ्गा जाने बाटो कालोपत्रे भए हामी जस्ता बूढाबूढीलाई सजिलो हुन्थ्यो ।”

अर्का ७२ वर्षीय रामनाथ सुवेदीले पनि उस्तै गुनासो पोख्नुभयो । “अव त मादि नगरपालिका भयो, यहीँ औषधि उपचार हुनुप¥यो”, उहाँले भन्नुभयो । कच्ची सडकबाट सदरमुकाम खाँदवारी पुगेर आउँदा बिरामी हुने गरेको स्थानीय सुवेदीले गुनासो पोख्नुभयो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै स्थानीय शिक्षक विश्वनाथ सुवेदीले मन्त्रि रिजालसामु एकपछि अर्को माग राख्नुभयो । मोबाइलको टावरले भरपर्दो काम नगरेको भन्दै ल्याण्डलाइन फोन आवश्यक रहेको बताउँदै उहाँले मादिमा रहेको प्रहरी चौकीको स्तरोन्नति, द्वन्द्वको समयमा सदरमुकाम लगिएको नेपाल बैङ्क लिमिटेडको शाखा पुनःस्थापना, प्राथमिक स्वास्थ्य केन्द्र, मादि बहुमुखी क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउनुपर्ने लगायतका एक दर्जनभन्दा बढी माग राख्नुभयो ।

सङ्खुवासभा क्षेत्र नं. २ का सभासद दीपक खड्काले जिल्लाका समस्याबारे अवगत गराउँदै चतरा – तुम्लिङ्टार सडकलाई प्राथमिकताका साथ अगाडि बढाउन, जिल्लामा रिङरोडको अवधारणलाई मूर्त रूप दिन नेपाल सरकारले सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो ।

मन्त्रि रिजालले स्थानीयले राखेको माग पूरा गर्ने आश्वासन दिँदै भन्नुभयो, “तपाईँहरूको मागप्रति म एकदम सकारात्मक छु । माननीय दीपक खड्कासँग सल्लाह गरेर अगाडि बढ्नेछु ।”

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना