विस्मृतिमा हराउँदै शहीद रत्नकुमार वान्तवा

Ratna surungराजु शिवा

पशुपतिनगर, चैत २६ गते । सुनसान डाँडामा ठिङ्ग ठडिएको एउटा भवन । छेवैमा पानी खस्न बन्द भएको धारा । नजिकै शौचालय भए पनि ढोका कहिल्यै खुल्दैन । घर पनि बटुवा कम हिँड्ने बाटाको पौवा जस्तै भइसकेको छ ।

वरिपरिका रुखबाट खसेका पत्कर घरभित्रसम्म पसेका छन् । घरका पेटी भत्कँदै गएका छन्, लिपपोत छैन । घरको रङ्ग उडिसकेको छ । ढोकाका छिस्किनी खुल्लै छन् । हम्मेसी मान्छेहरू त्यहाँ पुग्दैनन् ।

गर्विलो कम्युनिष्ट इतिहास बोकेका शहीद नेता रत्नकुमार वान्तवा र बम वान्तवाको स्मृतिमा बनाइएको भवन अहिले स्याहारविहीन अवस्थामा छ  । स्मृति भवन छिर्दा रत्न र बम वान्तवालाई सम्झाउने कुनै चीज छैनन् ।

स्याहारविहीन भएपछि त्यहाँ भएको एउटा फोटो पनि भाइ महेश वान्तवाले घरमा लगेर राख्नुभएको छ । रत्न स्मृति भवनमा एउटा वोर्ड मात्रै छ ।

“यहाँ साह«ै विस्याहार भयो, त्यसैले घरमा लगेर राखेको छु”, रत्नका अन्तरे भाइ महेश वान्तवाले भन्नुभयो, “खै यसको संरक्षणमा कसैको ध्यान पुगेन्, हामीले सधैँ गर्न सकेनौँ ।”

तत्कालीन मेची अञ्चलाधीश कार्यालयले जफत गरेका वान्तवाका थुप्रै साहित्यिक र राजनीतिक लेख भएका डायरी तथा उहाँले प्रयोग गर्नुहुने अन्य सामान इलाम जिल्ला प्रशासन कार्यालयमा नै राखिएको थियो । जिल्ला प्रशासनको एउटा बाकसमा भएका ती सामान अहिले कहाँ छन् भन्नेबारे कसैले खोजी गरेको छैन । उहाँले प्रयोग गर्नुभएका सामान सङ्ग्रहित गर्नुपर्ने भनाइ सरोकारवालाको छ ।

कम्युनिष्टहरूको आस्थाको केन्द्र मानिएको रत्नकुमार वान्तवाले खनेको सुरुङको अवस्था पनि उस्तै छ । झारले सुरुङलाई कुरूप बनाएको छ । त्यसको पनि उचित रूपमा संरक्षण गरिएको छैन ।

रत्नकुमार वान्तवा जन्मेको घर भत्किएपछि बनाइएको स्मृति भवनको स्याहारमा कसैको ध्यान जान सकेको छैन ।

रत्नकुमारको परिवार आफ्नो दाजुको नाममा स्थापना भएको भवनको अवस्था देख्दा दुःखी छ । “नामले सबैले चिन्छन, यहाँ भएको एउटा स्मृति भवन र सुरुङको पनि विस्याहार छ”, दाजुको कामको सम्मानका लागि आफूले केही गर्न नसकिरहेको सुनाउँदै महेशले भन्नुभयो, “हामीलाई केही गर्नु परेन, यसको संरक्षण गरे पुग्थ्यो ।”

रत्नकुमारले तत्कालीन प्रहरी प्रशासनसँग जोगिएर पार्टी गतिविधिलाई गोप्य रूपमा अगाडि बढाउन ४० मिटर लामो सुरुङ खन्नुभएको थियो । सुरुङ बनाउँदाको विगत सम्झँदै भाइ महेश सुनाउनुहुन्छ, “यति खन्नलाई डेढ वर्ष लागेको थियो, राति–राति लुक्दै खनेका हौँ ।”

उहाँले आफ्नो भूमिका सम्झँदै भन्नुभयो, “मेरो काम सेन्ट्री बस्ने थियो, त्यसबेला म रेड कमाण्डर थिएँ ।”

२००८ साल चैत २७ गते जन्मिनुभएका वान्तवालाई २०३५ साल चैत २७ गते हत्या गरिएको थियो । उहाँको हत्या गरिएको स्थान इभाङमा उहाँको सम्झना आउने कुनै संरचना बनाइएको छैन ।

रत्नकुमारको राजनीतिलाई सघाउँदा उहाँका बुबा जर्गमान राईले पनि १८ महिना र आफूले पनि जेल बस्नुपरेको भाइ महेश सुनाउनुहुन्छ ।

चित्रेमा भाइ महेश बाहेक परिवारका अरु कोही भेटिँदैनन् । रत्नका एक भाइ कृष्ण राई अहिले धनकुटातिर हुनुहुन्छ । त्यस्तै काइँला भाइ बालकुमार भारततिर रहेको महेशले जानकारी दिनुभयो ।

२०३२ सालदेखि पूर्र्णकालीन राजनीतिमा लाग्नुभएका वान्तवा २०३५ साउन ४–९ मा कोअडिर्नेसन केन्द्रकोे तेस्रो सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । कोअडिर्नेसन केन्द्र २०३५ साल पुस ११ गते नेकपा माले (हालको एमाले) मा रूपान्तरित भएको हो ।

रत्नकुमार वान्तवा नेकपा मालेका संस्थापक केन्द्रीय सदस्य हुनुभएको थियो । तत्कालीन नेकपा मालेको केन्द्रीय सदस्य भएको साढे तीन महिनामै २०३५ साल चैत २७ गते इलामको इभाङमा तत्कालीन प्रहरी प्रशासनले रत्नकुमार वान्तवालाई गोली हानी हत्या गरेको थियो ।

आफ्नो पार्टी, स्वतन्त्रता र कम्युनिष्ट आन्दोलनका लागि मृत्यु रोज्ने वान्तवाको परिवारका लागि समेत कसैले केही नगरेको परिवारको गुनासो छ । रत्नको परिवार गाउँमा खेती किसानीमै आश्रित छन् ।

पार्टी खुला भएपछि सँगैका नेताहरू पार्टीको नेतृत्वमा हुँदा समेत रत्नको चिनोहरूलाई बेवास्ता गरिएको रत्नका भाइ महेश बताउनुहुन्छ ।

“धेरै नेताहरू मन्त्री–प्रधानमन्त्री भए तर कसैले केही गरेनन्”, भाइ महेश गुनासो गर्नुहुन्छ, “यहाँ आउने बाटो र रत्न सुरुङका लागि केही सहयोग गरे हुन्थ्यो । हाम्रो पहुँच छैन । अरुले हेर्दैनन् ।” रत्नसँगै सङ्गठनमा लाग्नुभएका झलनाथ खनाल प्रधानमन्त्री, एमाले पार्टी अध्यक्ष भइसक्नुभयो । इलामकै अर्को नेता सुवासचन्द्र नेम्वाङ पनि मन्त्री तथा सभामुख भइसक्नुभएको छ । उहाँहरूसँगैका अन्य नेता पनि केन्द्रीय नेतृत्वमा पुगिसक्नुभएको छ तर कसैको आँखा चमैताको चित्रेमा नपुगेको रत्नको परिवारको गुनासो छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना