• ७ वैशाख २०८१, शुक्रबार

पत्रकार पौडेलको अन्त्येष्टि

सेती नदीको पानी घटाएर शवको खोजी गरिँदै

blog

पत्रकार त्रिभुवन पौडेलको शवलाई अन्त्येष्टिका लागि लगिँदै । तस्बिर रमेश पौडेल

रमेश पौडेल 

पोखरा, माघ ३ गते । यती एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेका १ जनाको मात्रै अवस्था अज्ञात रहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख टेकबहादुर केसीका अनुसार सम्पर्कविहीन रहेका २ जनाको खोजी कार्यमा जटिल भएपछि सेती नदीको पानी घटाइएको छ । सेती नदीको पानीलाई याम्दीको पुलबाट सिँचाइका लागि बनाइएको नहरमा हालिएको छ । 

नदीको पानी घटाइएसँगै मंगलबार गोताखोरसहित ड्रोनको प्रयोग गरी शवको खोजी गर्दा सेती खोँच दुर्घटनास्थलभन्दा करिब ७ सय मिटर तल पानीमा एक महिलाको शव भेटिएको हो । 

शवलाई पोस्टमार्टमका लागि पोखराको रामघाटस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । 

दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार सातवटा शव र आज एकजनाको गरी ७१ वटा शव फेला पारिएको सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जनाउनुभयो । अब एकजनाको मात्र अवस्था अज्ञात रहेको छ । 

दुर्घटनामा परी मृत्यु भएका २२ जनाको शव पोखरामै पोस्टमार्टम गरी कानुनी प्रक्रिया पूरा गराई आफन्तको जिम्मा लगाइएको छ भने बाँकी ४८ जनाको शव नेपाली सेनाको हेलिकोप्टर र जहाजमार्फत आजै काठमाडौं पठाइएको हो । 

आज बेलुकीपख पत्ता लागेको एकजनाको शव पहिचान हुन नसकेका कारण भोलि काठमाडौँ पठाउने तयारी रहेको सहायक प्रजिअ शाहीले जानकारी दिनुभयो । 

पत्रकार पौडेलको अन्त्येष्टि

यती एयरको विमान दुर्घटनामा परेर निधन हुनुभएका पत्रकार त्रिभुवन पौडेलको आज अन्त्येष्टि गरिएको छ ।

पत्रकार पौडेलको शवलाई नेपाल पत्रकार महासङ्घ कास्की तथा प्रदेशको प्राङ्गणमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । श्रद्धाञ्जली सभामा मुख्यमन्त्री खगराज अधिकारी, प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डे, मन्त्रीहरू, सांसदहरू, नेपाल पत्रकार महासङ्घका केन्द्रीय पदाधिकारीहरू, पत्रकारका साथै विभिन्न सङ्घ संस्था, राजनीतिक पार्टी, नागरिक समाज, पर्यटन व्यवसायी तथा शुभचिन्तकहरू भेला भएका थिए ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्यसमेत रहनुभएका पौडेल नेपाल प्रेस सेन्टरको बैठकको तयारीमा हुनहुन्थ्यो । त्यसकै लागि उहाँ काठमाडौं गएर पोखरा फर्कने क्रममा विमान दुर्घटनामा पर्नुभएको हो । पोखरा हटलाइन दैनिकका सम्पादक पौडेल नेपाल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्थ्यो ।