• १३ वैशाख २०८१, बिहिबार

बैङ्कहरूको सम्पत्ति तथा दायित्व वृद्धि न्यून

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ३ गते । आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैङ्कहरूको कुल सम्पत्ति तथा दायित्व विस्तारको गति कम भएको पाइएको छ । अघिल्लो आर्थिक वर्षमा २३.४ प्रतिशतले बढेकामा समीक्षा वर्षमा १०.५ प्रतिशत (पाँच खर्ब ६३ अर्ब ५५ करोड रुपियाँ)ले मात्र वृद्धि भई ५९ खर्ब ५६ अर्ब आठ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो सम्पत्ति-दायित्व १० खर्ब २२ अर्ब ९४ करोड रुपियाँले बढेको थियो ।

नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदनका अनुसार सो आर्थिक वर्षमा वाणिज्य बैङ्कहरूको कुल निक्षेप परिचालन ८.६ प्रतिशत (तीन खर्ब ५८ अर्ब १६ करोड रुपियाँ)ले वृद्धि भई २०७९ असार मसान्तमा ४५ खर्ब २५ अर्ब ६२ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष वाणिज्य बैङ्कहरूको कुल निक्षेप परिचालन २०.३ प्रतिशत (सात खर्ब दुई अर्ब ३१ करोड रुपियाँले बढेको थियो ।

समीक्षा वर्षमा वाणिज्य बैङ्कहरूको चल्ती र बचत निक्षेप दायित्व क्रमशः ६.८ प्रतिशत र ११.५ प्रतिशतले घटेको छ भने मुद्दती निक्षेप २८.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप क्रमशः २२.२ प्रतिशत, ३१.२ प्रतिशत र १६.१ प्रतिशतले बढेको थियो ।

वाणिज्य बैङ्कहरूको कर्जा तथा लगानी समीक्षा वर्षमा १४.४ प्रतिशत (छ खर्ब ५४ अर्ब ८७ करोड)ले वृद्धि भई २०७९ असार मसान्तमा ५१ खर्ब ९१ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष वाणिज्य बैङ्कहरूको कर्जा तथा लगानी २८.१ प्रतिशत (नौ खर्ब ९६ अर्ब ३५ करोड)ले वृद्धि भएको थियो ।

समीक्षा वर्षमा वाणिज्य बैङ्कहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२.७ प्रतिशत (चार खर्ब ६४ अर्ब सात करोड)ले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो कर्जा २७.८ प्रतिशत (सात खर्ब ९२ अर्ब २२ करोड)ले वृद्धि भएको थियो ।

विकास बैङ्कको पाँच खर्ब ९९ अर्ब सम्पत्ति समीक्षा वर्षमा विकास बैङ्कहरूको कुल सम्पत्ति-दायित्व १५.७ प्रतिशत (८१ अर्ब १८ करोड)ले वृद्धि भई २०७९ असार मसान्तमा पाँच खर्ब ९९ अर्ब ५२ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो सम्पत्ति-दायित्वमा २५.८ प्रतिशत (एक खर्ब छ अर्ब २० करोड)ले कमी आएको थियो ।

साधन परिचालनको प्रमुख स्रोतका रूपमा रहेको कुल निक्षेप समीक्षा वर्षमा १२.३ प्रतिशत (५४ अर्ब ५१ करोड)ले वृद्धि भई चार खर्ब ९५ अर्ब ९७ करोड कायम भएको छ । २०७९ असार मसान्तमा विकास बैङ्कहरूको तरल सम्पत्ति (सरकारी ऋणपत्रमा गरिएको लगानीसहित) ९० अर्ब छ करोड रहेको छ । यस्तो सम्पत्ति कुल निक्षेपको १८.२ प्रतिशत हुन आउँछ । अघिल्लो वर्ष उक्त अनुपात १७.९ प्रतिशत रहेको थियो । यद्यपि तरल सम्पत्तिमध्ये समीक्षा वर्षमा तरल कोष ४.८ प्रतिशतले घटेर २१ अर्ब सात करोड कायम भएको छ ।