महिलालाई उपसभामुखमै खुम्च्याइयो

काठमाडौँ, फागुन ११ गते । सभामुख वा उपसभामुखमध्ये एक पदमा अनिवार्य रूपमा महिला हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि राजनीतिक दलले महिलालाई दोस्रो पद उपसभामुखै सीमित राखेका छन् । राजनीतिक दलले सातै प्रदेशमा महिलालाई उपसभामुखमै खुम्चाएका छन् । 

नेपालको संविधानको धारा १८२ को उपधारा २ अनुसार ‘प्रदेशसभाको सभामुख वा उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था छ । तर, सबै प्रदेशमा महिलालाई उपसभामुखमै सीमित पार्ने काम गरिएको छ ।
संविधानले प्रदेशमा सभामुख वा उपसभामुख चयन गर्दा फरक लिङ्ग र फरक दलको प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ तर तत्काललाई दल त फरक पारिएको छ, एउटै प्रदेशमा पनि महिलालाई पहिलो पद सभामुख भने दिइएको छैन । प्रदेश १ देखि ७ सम्मको उपसभामुख पदमा क्रमशः सरस्वती पोखरेल, उपमाकुमारी देव, राधिका तामाङ, सिर्जना शर्मा, कृष्णी थारू, पुष्पा घर्ती र निर्मला बडाल (जोशी) निर्वाचित हुनुभएको छ ।
प्रदेश नं. १ मा उपसभामुख पदका लागि निर्वाचित सरस्वती पोखरेलको एकल उम्मेदवारी परेको थियो । माओवादीबाट सङ्खुवासभाको सेक्रेटरी भई काम गरी सक्नुभएकी पोखरेलले हाल माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य हुनुहुन्छ । प्रदेश नं. २ को उपसभामुखका लागि सङ्घीय समाजवादी फोरमका प्रदेशसभा सदस्य उपमाकुमारी देव निर्विरोध निर्वाचित हुनुभयो ।
यस्तै, प्रदेश नं ३ मा उपसभामुखका लागि राधिका तामाङको एक्लो उम्मेदवारी परेको थियो । तामाङ नुवाकोट १ (क) बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित हुनुभएको थियो । प्रदेश नं ४ मा उपसभामुख पदमा निर्वाचित सिर्जना शर्मा नेकपा (एमाले) प्रदेशसभा सदस्य हुनुहुन्छ । उहाँले यसअघि एमाले प्रदेश कमिटी सदस्य तथा एमालेकै भगिनी सङ्गठन अखिल नेपाल महिला सङ्घको केन्द्रीय सचिवको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ । प्रदेश ५ को उपसभामुख पदमा निर्वाचित कृष्णी थारू नेकपा (एमाले) का प्रदेशसभा सदस्य हुनुहुन्छ ।
यस्तै, प्रदेश नं ६ को उपसभामुखमा पुष्पा घर्ती (सुर्खेत) को एकल उम्मेदवारी परेको थियो । उहाँ माओवादी केन्द्रका प्रदेशसभा सदस्य हुनुहुन्छ । त्यसैगरी, प्रदेश नं ७ को उपसभामुखमा निर्वाचित निर्मला बडाल (जोशी) नेकपा माओवादीबाट प्रदेशसभा सदस्य हुनुहुन्छ । उपसभामुखमा अरू कसैको उम्मेदवारी नपरेपछि उहाँ त्यस प्रदेशबाट निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँ दार्चुलाबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
नेतृ शशी श्रेष्ठ सभामुख वा उपसभामुखमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने संवैधानिक व्यवस्था नभएको भए त्यही उपसभामुख पद पनि गुम्ने थियो भन्नुहुन्छ ।
अन्तरपार्टी महिला सञ्जालका उपाध्यक्ष पुष्पा ठाकुरले राजनीतिक दलहरूले सधैँ महिला नेतृत्वको कार्यक्षमतामाथि प्रश्न उठाएर प्रमुख पदको नेतृत्व नदिने गरेको बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds