नगरपालिकाहरूको काम कारबाहीबारे अनुगमन

काठमाडौं, फागुन १० गते । काठमाडौं जिल्ला समन्वय समितिले जिल्लाभित्रका नगरपालिकाहरूको काम कारबाहीबारे जानकारी लिन अनुगमन गर्न शुरुगरेको छ । जिल्ला समन्वय समिति अधिकारबिहीन भयो भन्ने गुनासो व्यापक आइरहेका बेला काठमाडौं जिल्ला समन्वय समितिले संविधान अनुसार जिल्लामा भएका स्थानीय तहको अनुगमन गर्दै आफ्नो अधिकार क्षेत्र स्पष्ट गरेको हो ।
बुधवार समन्वय समितिले नागार्जुन नगरपालिकाको अनुगमन गरी त्यहाँ भएका विकास निर्माण, भूकम्प पीडितहरुको आवास पुनःनिर्माणको प्रगति र नगरपालिकाको चालु आर्थिक वर्षमा सञ्चालित योजनाको प्रगतिलगायतका विषयमा अनुगमन गरेको हो ।
नेपालको संविधानको धारा २२० को उपधारा ७ मा जिल्ला समन्वय समितिले जिल्लाभित्रका गाउँपालिका र नगरपालिकबीच समन्वय गर्ने, विकास तथा निर्माणसम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने, जिल्लामा रहने सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारी कार्यालयहरूबीच आवश्यक समन्वय गर्ने उल्लेख छ । सोही अनुसार काठमाडौं जिल्ला समन्वय समितिले जिल्लामा भएका स्थानीय तहको अनुगमन गरेको हो ।
अनुगमन गर्दै जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले यसअघि साविक जिल्ला विकास समितिबाट नागार्जुन नगरपालिकामा सञ्चालित सीतापाइला खानेपानी योजनालाई छिटो सम्पन्न गर्नुपर्ने, स्थानीय तहमा सुशासन कायम गर्नका लागि नगरकार्यपालिका, नगरसभाका सदस्य, वडाध्यक्ष र कर्मचारीहरुले जनचाहाना अनुसार काम गनुर््पर्ने बताउनुभयो ।
नगरपालिकालाई समन्वय समितिबाट गर्नुपर्ने सबै प्रकारका सहयोग हुने भन्दै उहाँले यसका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्न समन्वय समिति तयार रहेको स्पष्ट गर्नुभयो ।
सो क्रममा नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पाण्डे (गौतम) ले अहिले नगरपालिकाबाट सञ्चालित सीतापाइला खानेपानी तथा सरसफाइ योजना, रामकोटस्थित बद्रीनारायण धाम, इचङ्गुनारायण मन्दिर परिसरमा सार्वजनिक पार्क तथा पाटी निर्माण भीमढुङ्गास्थित महेशनारायण खानेपानी र तारकेश्वर स्युचटार खानेपानी योजना अधूरो रहेको जानकारी दिनुभयो ।
उहाँले छिट्टै उक्त योजनाहरू सम्पन्न गर्न नगरपालिका सक्रिय भएर लागेको भन्दै केही समयभित्र उक्त योजना सम्पन्न हुने स्पष्ट गर्नुभयो ।
चालु आर्थिक वर्षका लागि नगरसभाबाट विनियोजित कुल १० वटा वडाका गरी १२१ वटा वडास्तरीय योजनाहरू क्रमिकरुपमा सम्झौता भई काम सम्पन्न हुने क्रममा रहेको अनुगमन टोलीलाई उहाँले जानकारी गराउनुभयो ।
त्यस्तै, निजी आवाससम्बन्धी चारहजार ६९९ जना घर परिवारको सर्वेक्षण सम्पन्न भएको, चारहजार १४५ लाभग्राहीको सख्ंया पहिचान भएको, तीनहजार ९६८ भूकम्प पीडितले अनुदान सम्झौता गरेको र १७७ जना भूकम्प पीडितको लाभग्राहीको सूचीमा नाम समावेश हुन नसकेको जानकारी दिनुभयो ।
नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले समन्वय समितिबाट नियमितरूपमा अनुगमन गरी नगरपालिकाको काममा सहयोग गर्न अनुगमन टोलीलाई आग्रह गर्नुभयो ।
समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजबैद्यको नेतृत्वमा गएको अनुगमन टोलीमा समितिका उपप्रमुख सरीता दाहाल, जिल्ला समन्वय अधिकारी गोपाल अधिकारी, प्रमुख योजना अनुगमन तथा प्रशासकीय अधिकृत घनश्याम तिमल्सिनालगायतको टोलीले नगरपालिकाले गरेको काम र प्रगतिका बारेमा अनुगमन गरेको थियो । यससँगै फागुन महिनाभरि समन्वय समितिले काठमाडौंका दशवटै नगरपालिकाहरूको क्रमिकरूपमा अनुगमन गर्ने जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds