पहिलो ‘राउण्ड’मै राष्ट्रपति चयन !

नारद गौतम

parlament of nepalकाठमाडौँ, फागुन ९ गते । संघीय र प्रदेश संसदमा दलहरुवीच भएको सांसद सङ्ख्याअनुसार यसपटकको राष्ट्रपति र उपराष्ट्रपतिका लागि हुने चुनाव पहिलो ‘राउण्ड’मै टुङ्गिने सम्भावना देखिएको छ । निर्वाचक मण्डलको तत्काल कायम रहेको कुल मतको बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मतभार प्राप्त गर्ने व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने व्यवस्था छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि संघीय संसद्का ३३४ र प्रदेश सभाका ५५० गरी कुल ८८४ जना मतदाता हुने व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार संघीय संसद्का एक जना सदस्यको मतभार ७९ हुनेछ भने प्रदेशसभाका एक जना सदस्यको मतभार ४८ हुनेछ ।
यो आधारमा अहिले संघीय संसदसँग २६ हजार तीन सय ८६ र सात वटा प्रदेशका सांसदसँग २६ हजार चार सय गरी कुल ५२ हजार ७८६ मतभार छ । यो आधारमा ५० प्रतिशत बढि ल्याएर विजय हुन कम्तीमा २६ हजार ३९४ मतभार आवश्यक पर्छ ।
चुनावी तालमेल गरेका तथा अहिले एकीकरणको प्रक्रियामा रहेका दुई दल नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र)सँग राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि २८ हजार ६३२ मतभार छ । यो मतभार राष्ट्रपति निर्वाचनका लागि आवश्यक पर्ने न्यूनतम मतभारभन्दा दुई हजार २८३ ले बढी हो ।
बहुमत ल्याउनैपर्ने
निर्वाचन आयोगका उपसचिव सुवास भट्टराईले राष्ट्रपतिको निर्वाचन तीन चरणसम्म हुने प्रावधान रहेको जानकारी दिनुभयो । पहिलो चरणमा कुल मतभारमध्ये कुनै उम्मेदवारले बहुमत मतभार ल्याएमा उसलाई विजयी घोषण गरिनेछ । तर कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढि मतभार प्राप्त गर्न नसकेमा दोस्रो चरणको चुनाव हुनेछ । त्यस्थो अवस्थामा दोस्रो चरणमा धेरै मत ल्याउने दुई जना उम्मेदवारबीच मात्रै प्रतिस्पर्धा हुने व्यवस्था छ ।
दोस्रो चरणमा पनि कुनै उम्मेदवारले बहुमत मतभार प्राप्त नगरेमा भने तेस्रो चरणको चुनाव हुनेछ । तेस्रो चरणमा भने दुई उम्मेदवारवीच सदर मतमा बढी मत ल्याउने उम्मेदवारलाई निर्वाचित गर्ने व्यवस्था ऐनले गरेको छ ।
राष्ट्रपति निर्वाचनका मतदाता
प्रदेशसभामा प्रत्यक्षबाट निर्वाचित ३३० र समानुपातिकबाट निर्वाचित २२० गरी ५५० जना निर्वाचित भइसकेका छन् । त्यसैगरी, संघीय संसद्का कुल ३३४ सदस्यमा राष्ट्रियसभामा निर्वाचित ५६ र राष्ट्रपतिबाट तीन जना सदस्य मनोनीत गरेपछि अहिले कुल ५९ सदस्य हुनुहुन्छ ।
यसअघि नै प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ र समानुपातिकबाट ११० गरी २७५ सदस्य निर्वाचित भइसक्नु भएकाले प्रतिनिधि सभाले पनि पूर्णता पाएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालका अनुसार, पहिलो पटक हुन लागेको यस निर्वाचनमा सङ्घीय संसद् र प्रदेश सभाको गठन भएको एक महिनाभित्र निर्वाचन हुने गरी आयोगले निर्वाचनको मिति तोकी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ । आयोगले प्रदेशसभा, राष्ट्रिय सभाको निर्वाचनको अन्तिम परिणम राष्ट्रपतिसमक्ष पहिला नै पेश गरेको थियो भने प्रतिनिधिसभा सदस्यको निर्वाचन परिणाम फागुन २ गते पेश गरेको छ ।
भण्डारी र पुन दोहरिन सक्ने
आयोगले फागुन २१ मा राष्ट्रपति र चैत पहिलो साता उपराष्ट्रपतिको निर्वाचन गर्ने प्रस्ताव गरे पनि मिति भने टुङ्गो लागेको छैन । निर्वाचन आयुक्त नरेन्द्र दाहालले राष्ट्रपतिको निर्वाचनका लागि आयोग तयारी अवस्थामा रहेको जानकारी दिनुभयो।
सरकारसँग परामर्श गरेर आयोगले निर्वाचनको मिति घोषणा गर्ने उहाँले बताउनुभयो । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन ऐन, २०७४ अनुसार, राष्ट्रपतिको निर्वाचन मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई छ ।
नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले फागुनको अन्तिमसम्म राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन हुने भएकाले आफूहरु पनि त्यतातिर केन्द्रित हुने बताउनुभयो । उहाँले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै निरन्तरता दिनेबारे छलफल चलेको स्वीकार्दै उहाँहरु दोहोरिने सम्भावना रहेको बताउनुभयो । सचिव ज्ञवालीले भन्नुभयो, ‘राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहो¥याउनेबारे छलफल चलेको छ, उहाँहरूकै निरन्तरता हुने पनि बलियो सम्भावना छ ।’

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना