• १५ चैत २०८०, बिहिबार

समुदायस्तरको कोल्ड स्टोर प्रभावकारी

blog

सिन्धुली समाचारदाता

तीनकन्या (सिन्धुली), माघ २ गते । जिल्लाका जुनार उत्पादक किसानहरू समुदायस्तरको कोल्ड स्टोरप्रति आकर्षित देखिएका छन् । सिजनमा कोल्ड स्टोरमा भण्डारण गरी बेमौसममा जुनार बिक्री गर्दा बढी फाइदा हुने देखेपछि जुनार किसानले निजी लगानीमा कोल्ड स्टोर बनाउन सुरु गरेका छन् । गोलन्जोर गाउँपालिका–४, माझकुभिण्डेका जुनार किसान लोकबहादुर आलेमगरले अनुदान र आफ्नो दुई लाख ४५ हजार ९५० रुपियाँ लगानी गरी समुदायस्तरको कोल्ड स्टोर निर्माण गरी तीन मेट्रिक टन जुनार भण्डारण गरी राखेको बताउनुभयो । 

कुल सात लाख रुपियाँमा निर्माण गरिएको कोल्ड स्टोरमा चार लाख ६१ हजार रुपियाँ जुनार सुपरजोनले अनुदान दिएको हो । स्थानीय उत्पादनका आधारमा कोल्ड स्टोर भने केही साना आकारको बनेको पाइएको छ । सिन्धुलीमा यस वर्ष किसानको समेत साझेदारीमा जुनार क्षेत्रमा पाँच वटा १० मेट्रिक टन क्षमताका समुदायस्तरका कोल्ड स्टोर बनाउने योजना रहेको जुनार सुपरजोनले जनाएको छ । जुनार सुपरजोनका प्रमुख रमेश हुमागाईँका अनुसार गोलन्जोर गाउँपालिका–४, तीनकन्यामा चारवटा र वडा नं. ५ को हिर्दिङमा एउटा कोल्ड स्टोर निर्माणाधीन छन् ।

गत वर्ष एउटा कोल्ड स्टोर बनाएकामा किसानले एकै सिजनमा लगानी उठाई फाइदा लिएकाले उनीहरूको मागअनुसार कोल्ड स्टोर निर्माणमा जोड दिइएको हुमागाईँको भनाइ छ । “सिजनमा अहिले जुनार प्रतिकेजी ७०/८० रुपियाँ रहेको छ । त्यही जुनार कोल्ड स्टोरमा भण्डारण गरी चैत÷वैशाखमा बिक्री गर्दा किसानले प्रतिकेजी १२० रुपियाँभन्दा बढी मूल्य पाउँछन्,” उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले जुनार खेती बढाउने, जुनार–सुन्तला जोगाउने र जुनारबाट कमाउने गरी तीन वटा कार्यक्रम सञ्चालन हुँदै आएको छ । 

जुनार बढाउने कार्यक्रमअन्तर्गत हरेक वर्ष ६० हेक्टर जमिनमा नयाँ बिरुवा रोप्ने, जुनार सुन्तला जोगाउने कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा जुनारको बोटमा प्रोटिन बेट विषादी छर्किएर औँसाकीरा नियन्त्रण गर्ने र जुनारबाट कमाउने कार्यक्रमअन्तर्गत समुदायस्तरमा १० मेट्रिक टन क्षमताका कोल्ड स्टोर निर्माण गरिएको उहाँले स्पष्ट पार्नुभयो । 

जुनारको राजधानी भनेर चिनिने सिन्धुलीको महाभारत उत्तरतर्फका बगैँचाहरू यतिखेर पहेँलपुर छन् । लटरम्म फलेका जुनारका दानाले गाउँका बगैँचा र बीपी राजमार्ग आसपासका बजार नै पहेँलपुर छन् । यस क्षेत्रमा जुनार बिक्रीबाट बर्सेनि किसानले दुई लाखदेखि २० लाखसम्म आम्दानी लिने गरेको स्थानीयवासीको भनाइ छ । 

जिल्लामा यो वर्षसम्म करिब १४ हजार हेक्टर जमिनमा जुनार खेती भएको र त्यसमध्ये ७५० हेक्टरमा फलेको फलबाट छ हजार मेट्रिक टन जुनार उत्पादन हुने अनुमान छ । समग्र उत्पादनबाट किसानले ३३ करोड रुपियाँ आम्दानी हुने सुपरजोनको अनुमान छ । स्थानीय तहका ७९ वटा वडामध्ये आठ वटा वडामा व्यावसायिक रूपमा जुनार खेती हुँदै आएको छ । रतनचुरा, तीनकन्या, जलकन्या, बितिजोर, वासेश्वर, मझुवा र दुम्जालगायतका ठाउँ जुनार खेतीका लागि पकेट क्षेत्र हुन् ।