• ७ वैशाख २०८१, शुक्रबार

बन्दरगाह नचलेपछि पार्किङ बनाइँदै

blog

काठमाडौँ, माघ २ गते । काठमाडौँको चोभारमा रहेको ‘चोभार सुक्खा बन्दरगाह’मा पार्किङ र गोदाम स्थल बनाउन लागिएको छ । व्यापार सहजीकरण गर्न विश्व बैङ्कको सहयोगमा निर्माण भएको बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेपछि बन्दरगाहको पूर्वाधारलाई प्रयोगमा ल्याउन पार्किङ स्थल र गोदाम सञ्चालनमा ल्याउन लागिएको हो । आगामी एक साताभित्रमा सञ्चालनमा ल्याउने तयारी गरिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । 

व्यापार सहजीकरण गर्ने उद्देश्यका बन्दरगाह निर्माण गरी सञ्चालनमा आएको नौ महिनासम्म पनि प्रभावकारी रूपमा सञ्चालन नहुुँदा पूर्वाधारको अधिकतम प्रयोग गर्न बन्दरगाहलाई लजिस्टिक हबका रूपमा सञ्चालन गर्न लागिएको हो । 

समितिका कार्यकारी निर्देशक आशिष गजुुरेलले बन्दरगाह आगामी एक सातामा ‘लजिस्टिक हब’का रूपमा सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिनुुभयो । 

सुुक्खा बन्दरगाहमा रहेको ९० रोपनी जग्गामा एक साताभित्रमा हब सञ्चालन गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुुभयो । सुुक्खा बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन नआएपछि पूर्वाधारको प्रयोग गर्न पार्किङ स्थल, गोदाम र सामान प्याकेजिङका रूपमा प्रयोग गर्न लागिएको उहाँले जानकारी दिनुुभयो । बन्दरगाहमा बनेको पूर्वाधारलाई अधिकतम प्रयोग गर्ने उद्देश्यसहित पार्किङ स्थल गोदाम र सामान प्याकेजिङको सुविधा उपलब्ध गराउन लागिएको जानकारी उहाँले दिनुुभयो । “हबका रूपमा विकास गर्न पूर्वाधार तयार गरिसकिएको छ । भाडाको दररेट निर्धारण गरेपछि तत्काल सञ्चालनमा ल्याइने छ,” उहाँले भन्नुुभयो । दररेट सञ्चालन समितिबाट स्वीकृत गर्नुपर्छ । 

खसगरी मालवाहक ट्रकलाई पार्किङ सुविधा उपलब्ध गराउनुका साथै व्यवसायीले निश्चित शुल्क तिरेर गोदामका रूपमा प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।

एक करोड रुपियाँ खर्च गरेर बन्दरगाहभित्र प्रयोग नभएको ठाउँमा लजिस्टिक हब विकास गरिएको समितिले जनाएको छ । सञ्चालन खर्च उठ्ने गरी पार्किङ शुल्क बजार मूूल्यभन्दा सस्तो निर्धारण गर्ने समितिको तयारी छ । 

बन्दरगाहभित्र रहेको २६० रोपनी जग्गामध्येमा ९० रोपनी जग्गामा १५० देखि दुुई सयवटा ट्रक पार्किङ गरिनेछ । यस्तै १२ हजार स्क्वायर फुुट गोदाम र लोड÷अनलोड गर्ने ठाउँमा प्याकेजिङ स्थल रहेको समितिले जनाएको छ । 

आयात निर्यात सहजीकरण गर्ने उद्देश्यका साथ गत चैत २२ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको सो बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । समितिका अनुसार बन्दरगाह सञ्चालनमा आएदेखि हालसम्म ८० वटा कन्टेनरमा सामान भित्रिएका छन् भने चार कन्टेनर सामान निर्यात भएका छन् । 

प्रभावकारी रूपमा आयात निर्यातको काम हुन नसकेपछि बन्दरगाहभित्र रहेको पूर्वाधारलाई प्रयोग गरी सवारीसाधन पार्किङ र गोदाम स्थलका रूपमा प्रयोग गर्न लागिएको हो । बन्दरगाहमा आन्तरिक दुई सयवटा ट्रक पार्किङ गर्ने सुविधा रहेको समितिले जनाएको छ । बन्दरगाहमा साना उद्यमीले उत्पादन गरेका सामान प्याकेजिङसमेत गर्न सकिने समितिले जनाएको छ ।

समितिका अनुसार हाल बन्दरगाहमा बाहिरी मुलुकबाट आयात गरेर ल्याइएका पाँच सय कन्टेनर तथा पाँच सय ट्रकका लागि आवश्यक ६५ हजार वर्गमिटरको पार्किङ क्षेत्र, भन्सार, क्वारेन्टाइन, सुरक्षा र अपरेटर कम्पनी रहेका छन् । बैङ्कलगायत अन्य संरचनाका लागि तीन भवन, तीन गोदाम, तीन एप्राइजल सेड, स्टफिङ÷डिस्टफिङ सेड, तीन धर्मकाँटा, विद्युतीय सबस्टेसन, बाउन्ड्री लाइटलगायतका पूर्वाधार निर्माण गरिएको छ ।

बन्दरगाहभित्र भन्सार जाँचपास कार्यालय, क्वारेन्टाइन, प्रशासनिक भवन, कन्टेनर पार्किङ, गोदामघर, चेकजाँच कक्ष सबै सुविधा एकै ठाउँमा छन् । विश्व बैङ्कको एक अर्ब ५४ करोड रुपियाँ सहयोगमा २६० रोपनी क्षेत्रफलमा बन्दरगाह निर्माण गरिएको थियो । बन्दरगाहमा ३५० वटा ट्रक पार्किङ, ढल प्रशोधन केन्द्रलगायतका सुविधा र कुल आयोजना क्षेत्रको ६ प्रतिशत क्षेत्रफलमा हरियाली राखिएको छ ।