• १५ चैत २०८०, बिहिबार

हिल्साबाट निर्माण सामग्री आयात

blog

हुम्ला समाचारदाता

हुम्ला, माघ २ गते । चीनसँगको सिमाना हिल्सा नाकाबाट पछिल्लो तीन दिनमा ३३ गाडी सिमेन्ट र छड आयात भएको छ । चीनले हिल्सा नाका एकतर्फी खुला गरेपछि यी सामग्री आयात भएका हुन् ।  

प्रमुख जिल्ला अधिकारी सीता परियारले चीनले तीन दिनमा ३३ ट्रक र साना गाडीमा निर्माण सामग्री नेपाल भित्रिएको बताउनुभयो । यसअघि चिनियाँ पक्षले आवश्यकताअनुसार हिल्सा नाकाबाट निर्बाध सामान एकतर्फी रूपमा पठाउन सकिने जनाएको थियो । सोहीअनुरूप हिल्सा र सिमकोटका व्यवसायीले निर्माण सामग्री आयात गरेका हुन् । आयातित सामग्रीमध्ये १० हजार छ सय बोरा सिमेन्ट, चार ट्रक छड रहेको जनाइएको छ । कोरोना महामारीपछि चीनले पुस १३ देखि एकतर्फी नाका खुलाएर १८ गाडी खाद्यान्न र लत्ताकपडा हिल्सा पठाएको थियो । चीनबाट अब इन्धन आयातका लागि पनि छलफल भइरहेको पनि जानकारी दिनुभयो । 

सडक यातायात नजोडिएकाले हवाई मार्गबाट माथिल्लो हुम्ला भित्रिने सामग्रीको मूल्य चीनबाट आयात भएकोभन्दा महँगो पर्छ । यी सामग्री हिल्साबाट आयात भएपछि विकास निर्माणका काम गर्नसमेत सहज हुनेछ तर हिमपात नहुँदै हिल्साबाट ती सामग्री सिमकोट भिœयाइसक्नुपर्ने बाध्यता व्यापारीलाई छ ।