• ४ वैशाख २०८१, मङ्गलबार

पोखरा विमान दुर्घटना : शव आफन्तलाई जिम्मा लगाइँदै

blog

गण्डकी, माघ २ गते । पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ ।

दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो ।

पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौँमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ । जहाजमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ । तीनवटा शव देखिए पनि भौगोलिक कठिनाइका कारण ल्याउन नसकिएको र छ जनाको शव अझै फेला नपरेको सहायक प्रजिअ शाहीले जानकारी दिनुभयो ।

सेती नदीको अप्ठेरो खोँचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि सुरु गर्न लागिएको छ ।