• १६ चैत २०८०, शुक्रबार

मौरीपालनबाट स्वदेशमै मनग्गे आम्दानी

blog

मीना कँडेल

कावासोती, माघ २ गते । मौरीपालनबाट निकै राम्रो आम्दानी हुन थालेपछि नवलपुरका युवा व्यावसायिक रूपमा यसतर्फ लाग्न थालेका छन् । कतिपय युवाले स्वदेशमा आर्थिक आयआर्जनको स्रोत छैन भन्दै गर्दा यहाँका युवा स्वदेशमै मनग्गे आम्दानी गर्न थालेका छन् । 

उनीहरूले मौरीपालनमा प्रशस्त सम्भावना देखेकाले यसतर्फ आकर्षित भएका हुन् । देवचुली नगरपालिका–९ का चन्द्रबहादुर थापाको मौरीपालनबाट जीवन फेरिएको छ । कम लगानीबाट मनग्य आम्दानी भएपछि मौरीपालनमा लागी परेको उहाँले बताउनुभयो । मौरीपालन व्यवसायप्रति खुसी हँुदै उहाँले भन्नुभयो, “पहिले मौरीपालनबाट के नै आम्दानी होला जस्तो लागेको थियो तर यसबाट राम्रो आम्दानी भएपछि मौरीपालन नै गर्ने र  ब्लक क्षेत्र बनाउने योजना छ ।” 

महको प्रयोग स्वाथ्यका लागि लाभदायक भएकाले जाडो मौसममा यसको माग बढ्दै गएको छ । नवलपुरका आठ स्थानीय तहमध्ये देवचुली नगरपालिकामा मौरीपालन गर्ने किसानको सङ्ख्या धेरै छ । देवचुलीका कतिपय किसान विगत २७ वर्षदेखि मौरीपालन व्यवसाय गर्दै आएका छन् । नेपाल मौरीपालन व्यवसाय समिति नवलपुरका अध्यक्ष यदु कँडेलका अनुसार गैँडाकोट, देवचुली र कावासोतीका युवाले कृषि पेसाअन्तर्गत मौरीपालनमा चासो दिन थालेका छन्  । 

विदेशमा मात्र होइन स्वदेशमा पनि सजिलै पैसा कमाउन सकिन्छ भन्ने उदाहरण यहाँका युवाले देखाएका छन् । चन्द्रबहादुरजस्तै यहाँका धेरै युवा मौरीपालन गर्ने र पकेट क्षेत्रसँगै ब्लक क्षेत्र बनाउने योजनामा छन् ।

कावासोती नगरपालिकाका अनन्त कँडेलले प्रदेशको अनुदानमा मह प्रशोधन केन्द्र नै स्थापना गरेका छन् । मौरीपालन गर्न युवाले सामुदायिक वनसँग साझेदारी गरी घार व्यवस्थापन  गर्ने गरेका छन् ।

नवलपुरमा मात्र वार्षिक ३० टन मह उत्पादन र खपत हुने गरेको छ । जिल्लामा उत्पादन भएको महको खपत राम्रो हुने हुँदा अहिले विशेष गरी युवा मौरीपालनमा बढी आकर्षित भएको अध्यक्ष कँडेलले बताउनुभयो । जिल्लामा अहिले झन्डै डेढ सय किसान मौरीपालन व्यवसायमा आबद्ध छन् ।