• ११ वैशाख २०८१, मङ्गलबार

माछापालनमा आकर्षण बढ्दै

blog

नवलपरासी समाचारदाता

कावासोती, माघ २ गते । माछापालनमा किसानको आकर्षण बढ्दै गएपछि पूर्वी नवलपरासीमा माछा उत्पादन वृद्धि भएको छ । यस जिल्लाको दक्षिणी क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडिएका धेरै भागमा व्यक्तिगत तथा सामूहिक रूपमा माछापालन गरिँदै आएको छ । निकुञ्जबाट निस्किने जनावर गैँडा, बँदेल, हरिणलगायतले खेती नष्ट गर्ने क्रम बढ्दै गएपछि किसान खेतीबाली लगाउन छाडेर माछापालनतर्फ आकर्षित भएको रजहरका किसान तिलकबहादुर थापाले बताउनुभयो ।  

खेती गर्दा आफूले कहिल्यै पूरा बाली थन्क्याउन नपाएको तर अहिले माछापालन सुरु गरेपछि आम्दानी बढेसँगै जङ्गली जनावरले दिने दुःखबाट मुक्त भएको कावासोती नगरपालिका–१३ का किसान लक्ष्मीप्रसाद न्यौपानेले बताउनुभयो ।

पूर्वी नवलपरासीमा विशेष गरेर रहु, नैनी, सिल्भर कार्प, ग्रास कार्पलगायत स्थानीय जातका माछा पालिँदै आएको छ । यस वर्ष प्रयोगशाला स्थापना गरी माछा पोखरीमै पुगेर प्यारामिटर परीक्षण गर्नेदेखि नयाँ पोखरी निर्माण गर्दा लागत साझेदारीका आधारमा रोपनीको हिसाबले अनुदान दिइएकाले पनि यो वर्ष नवलपरासीपूर्वमा माछा उत्पादन बढ्ने न्यौपानेले बताउनुभयो ।

यस जिल्लामा दुई हजार ८४५ रोपनी क्षेत्रफलमा रहेका एक हजार पाँच सयभन्दा बढी साना ठूला पोखरीबाट अघिल्लो वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले माछा उत्पादन बढ्ने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पूर्वी नवलपरासीका मत्स्य विकास अधिकृत सन्दीप लामीछानेले जानकारी दिनुभयो । गत वर्ष ९३३ मेट्रिक टन माछा उत्पादन भएकामा यस वर्ष करिब एक हजार एक सय मेट्रिक टन पुग्ने लामिछानेले बताउनुभयो ।

केही वर्षअघिसम्म भारतीय माछामा निर्भर रहेको यस जिल्लामा माछापालन गर्ने किसानको सङ्ख्या र उत्पादन बढेसँगै जिल्ला माछा उत्पादनमा आत्मनिर्भर हुँदै गएको हो । यस जिल्लामा रहेको सबै पोखरीमा हुने माछापालन व्यवसायबाट वार्षिक १० करोड रुपियाँभन्दा बढी मूल्यका माछा उत्पादन हुँदै आएको माछापालन कृषक समितिका केन्द्रीय सहसचिव इन्द्र भुसालले बताउनुभयो ।