• ८ वैशाख २०८१, शनिबार

धनुषाधाममा धुमधाम मकर मेला

blog

ढल्केबर समाचारदाता

ढल्केबर, माघ २ गते । धनुषाको धनुषाधाममा आइतबारदेखि एकमहिने मकर मेला सुरु भएको छ । आइतबारदेखि सुरु भएको मकर मेला एक महिनासम्म चल्नेछ । 

माघ महिनाको प्रत्येक हप्ताको आइतबार धनुषाधाममा मकर मेला लाग्ने गरेको छ । मकर मेलामा सहभागी हुनका लागि धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली तथा सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थी आउने गरेका छन् ।

प्रसिद्ध धनुषाधाममा त्रेता युगमा तत्कालीन मिथिलाका राजा जनकको प्रतिज्ञा पूरा गर्नका लागि भगवान् रामले शिवको पिनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएको र त्यसमध्ये एक टुक्रा आकाश, अर्को पाताल तथा तेस्रो टुक्रा धनुषधाममा खसेको धार्मिक मान्यता रहेको छ ।

भगवान् शिवको पवित्र पिनाक धनुष भएका कारण सो ठाउँमा मकर अवधिभरि ठूलो धार्मिक मेला लाग्ने गरेको छ । खास गरेर धनुषाधाम मन्दिरमा भगवान् शिवको पिनाक धनुषको पूजापाठ गरी भाकल गरेको खण्डमा चिताएको कुरा पूरा हुने विश्वास भएकाले दर्शनार्थीको अत्यधिक भीड लाग्ने गरेको छ ।

धनुषाधाम मन्दिरमा अरू दिन पनि भक्तजन आउने गरेको भए पनि अन्य दिन कम मात्रामा आउने गरेको मन्दिरका पुजारी स्वामी भरत दासले जानकारी दिनुभयो । धनुषाधाम मन्दिरमा करिब एक हजार वर्ष पुरानो पीपलको रुख रहेको छ । यसका साथै पीपलको जरामा आकाशगङ्गा छ । आकाशगङ्गाको पानी कहिल्यै सुक्दैन । सुकेको खण्डमा अनिष्ट हुने धार्मिक मान्यता रहेको पुजारी दासले बताउनुभयो । जनकपुरधामबाट १८ किलोमिटर उत्तरपूर्वको कुनामा धनुषाधाम मन्दिर रहेको छ । धनुषको टुक्रा अवलोकन र पूजाअर्चना गर्न दिनहुँ आन्तरिक तथा बाह्य पर्यटक एवं श्रद्धालु भक्तजन आउने गर्दछन् । यस स्थानमा प्रत्येक वर्ष माघ महिनाको प्रत्येक आइतबार मकर मेला आयोजना हुने गरेको छ । श्रद्धालु भक्तजनले मनोकमना पूरा भएपछि भण्टाभार चढाउने गर्दछन् ।

भव्य रूपमा मनाइयो माघेसङ्क्रान्ति

कलैया समाचारदाता शिवशङ्कर मिश्रका अनुसार मध्य तराईका बारा, पर्सा, रौतहटलगायत जिल्लामा आइतबार माघेसङ्क्रान्ति पर्व घिउ, चाकु, तिलको लड्डु र तरुल खाएर मनाइएको छ । कलैया, वीरगञ्ज, गौर, जितपुर सिमरा, पोखरियालगायतका बजारमा तिलको लड्डु, चाकु, तरुल, सखरखण्ड, पिँडालुलगायतका खाद्यवस्तुको एक सातादेखि बिक्री भइरहेको छ ।

विशेष गरी स्थानीय बजारमा तिलको लड्डु तथा चाकु खरिद गर्नेको भीड लागेको छ । ज्योतिष शास्त्रअनुसार सौर तिथिका हिसाबले आइतबारदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले दिन लामो र रात छोटो हुँदै जाने प्रकृतिको निरन्तरता रहँदै आएको छ ।

‘भविष्यपुराण’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा आजका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र आगो ताप्ने मकलसहितको सिधा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोसिलो हुनाका साथै निरोगी हुने उल्लेख छ ।

आयुर्वेद र चिकित्सा शास्त्रमा पनि यो दिन खाइने परम्परागत खाद्य पदार्थले हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन, कार्बोहाइडे«ट तथा क्याल्सियमलगायतका तŒव प्राप्त हुने र तिनले सम्भावित रोगसँग लड्ने क्षमता प्रदान गर्ने तथा शरीरमा भएका विकारलाई बाहिर पठाउने उल्लेख गरिएको छ ।

थारू समुदायमा यो पर्व ‘माघी’ पर्व धुमधामका साथ आफ्नो संस्कृति, गीतका साथै नाचगान गरी जातको पहिचान गराउने गरेको कोल्हवी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरीले बताउनुभयो । यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने र यो पर्व पाँच दिनसम्म मनाउने चलन रहेको चौधरीले बताउनुभयो । 

यता थारू कल्याणकारिणी सभा बाराले कोल्हवी बजारमा माघी थारू वेशभूषा, पहिरनका साथै नाचगानसहितको महोत्सव सुरु गरेका छन् । करिब २५ लाखको लागतमा पाँचदिने महोत्सवमा ५० वटा माछा, मासु, गँगटो, परेवा, कुखुरा, हाँस र घुँगीलगायतका खानाको परिकार भएको स्टल राखिएको धीरेन्द्र पनुहार चौधरीले जानकारी दिनुभयो ।