• ११ वैशाख २०८१, मङ्गलबार

सुस्ता जोड्ने पुल निर्माण अन्तिम चरणमा

blog

गोपी ज्ञवाली 

नवलपरासी, माघ २ गते । श्चिम नवलपरासीको सुस्तालाई नेपालतर्फको भूमिसँग जोड्ने गरी नारायणी नदीमा बन्न लागेको बहुप्रतीक्षित झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ ।

त्रिशूली जेभी आश्रय कन्स्ट्रक्सन कम्पनीले २०७० सालमा ठेक्का लिएर ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरे पनि करिब १० वर्षपछि पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । 

नेपाल सरकार पुल विभागका सब–इन्जिनियर गोपाल थापाले नेपालसँग जोडिने गरी नारायणी नदीमा बनाउन लागिएको झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो । कहिले भारतले अवरोध गर्ने, कहिले ठेकेदार कम्पनी सम्पर्कविहीन हुने, कोभिड महामारीलगायतका कारण निर्माणमा ढिलाइ भएको थियो । 

एक हजार ५५८ मिटर लम्बाइको यो पुलका १४ पिल्लरमध्ये १३ वटा निर्माण भइसकेको छ । अन्तिम पिल्लरको पाया बनाउने काम जारी छ । चौडा आकारमा बगेको नारायणी नदीमा पानीको बहाव ठूलो भएकाले पिल्लरका पाया निर्माणको काम अत्यन्त जोखिमपूर्ण थियो । नदीको मध्य भागमा पाया निर्माण गर्दा भारतीय पक्षसँग सहकार्य गरी पुल बन्न लागेको स्थानदेखि तीन किलोमिटर उत्तरमा भारतीय गण्डक नहरका ढोकाहरू बन्द गरी जमिनमुनिको काम गरिएको थियो । 

गत वर्ष भारतीय पक्षले बिनासूचना बाँधबाट पानी खोलिदिएका कारण पाया निर्माणको काम रोकिएको हो । विभिन्न अवरोधका कारण पुलको निर्माण दुई वर्षसम्म रोकिएको थियो । पछिल्लो एक वर्ष लगातार काम भएकाले पुल निर्माणले तीव्रता पाएको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख बुद्ध पौडेलले बताउनुभयो । 

कोभिडका कारण केही समय स्थानीय कामदार प्रयोग गरी निर्माण कम्पनीले काम गरे पनि अहिले निर्माणको कामले निरन्तरता पाएको हो । नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलका रूपमा निर्माण हुन लागेको सुस्ता झोलुङ्गे पुल देशकै एउटा उदाहरणीय पर्यटकीय पुल बन्ने भएको छ । 

यो पुल ३० महिनामा सम्पन्न गर्ने गरी पहिलो सम्झौता गरिए पनि कम्पनीले अनेक पटक निर्माणको म्याद थपेको निर्माण कम्पनी त्रिशूली आश्रय जेभी कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशक श्याम तामाङले बताउनुभयो । तीनतर्फ नारायणी नदीले घेरिएको सुस्ताको लाइफ लाइनका रूपमा रहेको झोलुङ्गे पुल निर्माणले सुस्तावासीको जीवनको रूप फेरिदिने अपेक्षा गरिएको छ ।