• ७ वैशाख २०८१, शुक्रबार

भूकम्पीय जोखिममा जनचेतना

blog

हामी आफैँले देखे–भोगेको २०७२ को विनाशकारी भूकम्पअघि सुन्ने गरेको वा चर्चामा रहेको वि.सं. १९९० माघ २ गतेको भूकम्प नै हो । रोक्न तथा पूर्वानुमान गर्न नसकिने जुनसुकै समय जान सक्ने भूकम्पीय जोखिम क्षेत्रमा रहेको नेपालमा त्यस भूकम्पले गरेकोजस्तै धनजनको क्षति आगामी ठूला तथा महाभूकम्पबाट नहोस् भन्ने हो । यस विषयमा जनचेतना फैलाई भूकम्पबाट हुने क्षति कम गर्ने उद्देश्यका साथ नेपालमा २०५५ देखि सोही दिनको सम्झनामा प्रत्येक वर्ष माघ २ गते विभिन्न कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाउँदै आइएको छ । 

सबैजसो प्रकोप अप्रत्यासित नै हुने भएकाले पूर्वतयारी वा जनचेतना जगाउन सकिएमा त्यसबाट हुने जनधनको क्षति अवश्यै कम गर्न सकिन्छ । तथापि कुनै छनक वा सुइँकोसम्म नपाइने भूकम्पका सम्बन्धमा त जनचेतनामार्फत पूर्वतयारी गर्नुको विकल्प छैन । भूकम्प आफैँले मानिसको हताहती गर्ने नभई मानवनिर्मित संरचनाका कारण धेरै धनजनको क्षति वा हताहती हुने भएकाले जनचेतना नै क्षति कम गर्ने सबैभन्दा उत्तम विकल्प हो । महाभूकम्प गएको लामो समयपछि ढिलै भए पनि यस प्रकारको जनचेतनामूलक कार्यक्रम सुरु हुनु सुखद र सकारात्मक मान्नुपर्छ ।

वि.सं. १९९० को भूकम्पको अनुभव गर्ने वा विनाश देख्ने तथा भोग्ने अहिले सायदै हुनुहोला तर पनि त्यसको चर्चा भने अद्यापि छ । त्यो भूकम्पबाट त्यो समयमा पनि आठ हजार ५०० भन्दा बढी मानिस हताहती भएको उल्लेख गरेको पाइन्छ । सो भूकम्प गएको करिब ६४ वर्षपछि सो विनाशकारी भूकम्पको सम्झनामा भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । अहिले २५औँ भूकम्प सुरक्षा दिवस ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नाराका साथ पुस २५ देखि माघ १६ सम्म मनाइँदै छ । 

भूकम्प सुरक्षा दिवस खासगरी ठूला तथा महाभूकम्पको केही सेकेन्ड वा मिनेटको धक्काबाट धेरै धनजनको क्षति हुने भएकाले यसबाट हुने क्षति न्यूनीकरण गर्न वा बच्न के गर्नुपर्छ भनेर जनचेतना फैलाउने उद्देश्यका साथ मनाउन सुरु गरिएको हो । दिवस मनाउन थालिएको २५ वर्षमा आइपुग्दा यसको असर, सकारात्मक प्रभाव र सर्वसाधारणमा जनचेतना जगाउन कत्तिको सफल रह्यो भन्नेतर्फ पनि समीक्षा गर्ने समय भइसकेको छ । वर्षमा एक पटक बृहत् रूपमा कार्यक्रम गरेर दिवस मनाउने र त्यसपछि वर्ष दिनभरि बिर्सने गर्नुहुँदैन । 

रोक्न र पूर्वानुमान गर्न नसकिने भूकम्पबाट बच्न अपनाउनुपर्ने उपाय (पूर्वतयारी)का सम्बन्धमा जनतामा प्रभावकारी ज्ञान दिनुको विकल्प हामीसँग छैन ।

यस किसिमको प्रवृत्तिले यस दिवसको उद्देश्य वा लक्ष्य हासिल हुनसक्दैन । यसलाई कुनै न कुनै रूपमा निरन्तरता दिई दिवसका लक्ष्य, उद्देश्यअनुसारका उपलब्धि हासिल भए÷भएनन् वा यस दिवसले सकारात्मक प्रभाव पा¥यो÷पारेन भनेर सर्वेक्षण गर्न वा खोज्न आवश्यक छ÷हुन्छ । ७२ सालको भूकम्पपछिका एक÷दुई वर्ष सर्वसाधारण जमघट हुने स्थान, अस्पताल, स्कुल, मन्दिर, बसपार्क, बस स्ट्यान्डजस्ता स्थानमा भूकम्पसम्बन्धी जनचेतनामूलक पोस्टर र पम्प्लेट राखिएको भए पनि त्यसपछि समय बित्दै जाँदा माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउनेबाहेक यस प्रकारका कामलाई निरन्तरता दिने गरेको देखिँदैन । यस्तो प्रवृत्तिले दिवसबाट प्राप्त गर्न खोजिएको लक्ष्य हासिल हुनसक्दैन ।

जनचेतना फैलाउने उद्देश्यले भूकम्प सुरक्षा दिवस मनाउनु राम्रो पक्ष हो तर यत्तिले मात्र यसले जनचेतना फैलिन्छ भन्ने सोच राख्नु हुँदैन । यसका लागि भूकम्पको धक्का महसुस भएको वा भूकम्प गएपछि मात्र नभएर अस्पताल, विद्यालय, क्याम्पस तथा सर्वसाधारणको जमघट हने स्थानमा भूकम्पसम्बन्धी जनचेतनामूलक पम्प्लेट तथा भित्ते पोस्टर नियमित रूपमा टाँस्नेलगायत रेडियो, टेलिभिजन तथा अन्य सञ्चारका माध्यमबाट नियमित रूपमा भूकम्पीय विपत् र यसबाट हुने धनजनको क्षति कम गर्न अपनाउनुपर्ने उपायका सम्बन्धमा प्रचारप्रसार गर्नुपर्छ ।

सम्पूर्ण नेपाल नै भूकम्पीय जोखिममा रहेको र यहाँ जुनसुकै समय मझौला, ठूला तथा महाभूकम्प जान सक्छ । भूकम्पसम्बन्धी गरिएका वैज्ञानिक अध्ययन अनुसन्धानबाट पश्चिम नेपाल (गोरखादेखि पश्चिम भारतको देहरादुनसम्म)मा सन् १५०५ देखियता ठूला अझ विशेषगरी महाभूकम्प नगएकाले ठूला तथा महाभूकम्प उत्पन्न गर्न सक्ने शक्ति सञ्चित भएको मानिन्छ । त्यसैले पश्चिम नेपाललाई भूकम्प सम्भावित क्षेत्रका रूपमा लिने गरिएको छ । होला कि त्यस्तो भूकम्प आजभोलि जान वा वर्षाैँ नजान पनि सक्छ, त्यसकारण हामी सधैँ चनाखो रहनुपर्छ । त्यसैले अबका हाम्रा भूकम्पसम्बन्धी राष्ट्रियस्तरका जनचेतनामूलक कार्यक्रम उक्त क्षेत्रका प्रादेशिक राजधानी, विद्यालय, क्याम्पस, अस्पताललगायत खासगरी जनघनत्व बढी भएका वा सर्वसाधारणको जमघट हुने स्थान लक्षित गरी गर्न सकियो भने त्यो अझ बढी फलदायी वा उपलब्धिमूलक हुनेछ । 

विगत करिब ५१८ वर्षदेखि सो क्षेत्रमा ठूला र महाभूकम्प नगएको हुँदा त्यस क्षेत्रमा ठूला तथा महाभूकम्प जान सक्ने शक्ति सञ्चित भएको अध्ययन अनुसन्धानबाट देखिएको छ । उक्त सञ्चित शक्ति निःसृत हुने एक मात्र माध्यम भूकम्प भएकाले सो क्षेत्रमा जनचेतनामूलक कार्यक्रम केन्द्रित गर्न जरुरी देखिन्छ । त्यस्तो भूकम्प कति मानको, कहिले र कहाँ केन्द्रबिन्दु बनाएर जान्छ भनी यकिनसाथ भन्न सकिने अवस्था नभएकाले हामी यी र यस्तै भूकम्पसम्बन्धी जनचेतनामूलक कार्यक्रममार्फत सधैँ सचेत र चनाखो गराई भूकम्पबाट हुने क्षति कम गर्न पहल गर्नुपर्छ ।

नेपाल दुई सक्रिय (भारतीय र युरेसियन) प्लेटको टकराव क्षेत्रको ठीक माथि अवस्थित रहेको भूकम्पीय जोखिम क्षेत्रमा पर्छ भन्ने कुरा २०७२ को गोरखा भूकम्प र त्यसका परकम्पलगायत विगतमा गएका २०३७, २०४५ तथा २०६८ का भूकम्पबाट पनि बुझ्न सकिन्छ । यसैगरी नेपालमा समय–समयमा जाने साना, मझौला, ठूला तथा महाभूकम्पको तथ्याङ्क-आँकडाले पनि यो कुराको पुष्टि गर्छ । यसैगरी नेपालले करिब २५०० कि.मि. लामो सक्रिय हिमशृङ्खलाको (पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यानमारसम्म) मध्य भागको एक तिहाई (पूर्वपश्चिम ८०० कि.मि.) लम्बाइ ओगटेकाले पनि यो क्षेत्रको भूकम्पीय जोखिमको एक तिहाई भार ओगट्ने कुराले पनि नेपाल भूकम्पीय जोखिम क्षेत्रमा रहेको पुष्टि गर्न थप बल पुर्याउँछ । 

गत २०७९ कात्तिक २२ गते पश्चिम नेपालको डोटी जिल्लाको खप्तड राष्ट्रिय निकुञ्जको खप्तड बाबा आश्रम आसपास केन्द्रबिन्दु भएका ५.७, ४.१ र २३ गते ६.६ रेक्टर स्केलको भूकम्प गएको र ती भूकम्पले त्यहाँ पु¥याएको धनजनको क्षति, सर्वसाधारण चिसो रातमा रातभर बाहिर बस्न बाध्य भएको स्मरण ताजै छ । उक्त समयमा जनतामा अर्को ठूलो भूकम्प आउने पो हो कि भन्ने त्रास थियो एकातिर भने अर्कोतर्फ जनचेतनाको अभावमा त्यहाँ स्वनिर्मित संरचना भूकम्प प्रतिरोधी नभएको-नबनाइएकाले तथा कमजोर भएकाले पनि उनीहरूभित्र बस्न सक्ने अवस्था थिएन । 

दुःखको कुरा हालसम्मको भू–वैज्ञानिकको अथक् अध्ययन अनुसन्धानबाट पनि भूकम्पको पूर्वानुमान गर्न सक्ने प्रविधि नभएकाले सर्वसाधारणलाई तत्काल अर्को ठूलो भूकम्प जाने नजाने थप जानकारी दिन सकिने-सक्ने अवस्था नभएकाले सर्वसाधारणलाई सचेत रहन भन्नेबाहेक अन्य थप केही भन्न सकिएन । 

खानी तथा भूगर्भ विभागअन्तर्गतको राष्ट्रिय भूकम्पमापन तथा अनुन्धान केन्द्रले नेपाल र यसको आसपासमा जाने भूकम्पको निरन्तर निगरानी गर्ने र भूकम्प गएपछि यथासक्य छिटो त्यसको मान र स्थानको जानकारी सम्बन्धित निकाय र सर्वसाधारणलाई दिई खोज तथा उद्धार कार्यमा सहयोग गर्दै आएको छ । त्यसका अलावा यस केन्द्रले विगतमा समय–समयमा विभिन्न जिल्लामा त्यहाँका विज्ञान शिक्षक, इन्जिनियर, ओभरसियरलगायत अन्य इच्छुकलाई संलग्न गराई जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि सम्भव भएसम्म सो कार्य गर्ने लक्ष्य राखेको छ ।

हुन त कुनै पनि भूकम्पबाट हुने क्षति खासगरी भूकम्पको मान, भूकम्पको उत्पत्ति बिन्दुको गहिराइ, भूकम्पको दरारको दिशा, सो ठाउँको भूबनोट, सो स्थानबाट भूकम्पको केन्द्रबिन्दुसम्मको दूरी, भूकम्प गएको समय, उक्त स्थानको जनघनत्व र निर्मित संरचनाको गुणस्तरजस्ता विषयमा भर पर्छ । समान मानकै भूकम्प भए पनि कम गहिराइमा उत्पन्न भएका भूकम्पले बढी विनाश गर्छन् वा बढी विनाशकारी हुन्छन् । 

भूकम्पको पूर्वानुमान गर्न सकिएमा यसबाट हुने धेरै धनजनको क्षति कम गर्न सकिन्छ भनेर यस क्षेत्रमा कार्यरत वैज्ञानिक लागिपरे पनि हरेक भूकम्प उत्पन्न हुने प्रकृति फरक–फरक हुनुले यस क्षेत्रमा कार्यरत वैज्ञानिकको अथक् प्रयास हुँदाहुँदै पनि हालसम्म भूकम्पको पूर्वानुमान गर्न सम्भव भएको वा गर्न सकिएको छैन । रोक्न र पूर्वानुमान गर्न नसकिने भूकम्पबाट बच्न अपनाउनुपर्ने उपाय (पूर्वतयारी)का सम्बन्धमा जनतामा प्रभावकारी ज्ञान दिनुको विकल्प हामीसँग छैन । यस प्रकारको जनचेतना दिन भूकम्प सुरक्षा दिवस सफल भएमा भूकम्पबाट हुने जनधनको क्षति कम गर्न सकिन्छ र यस दिवसको सफलता वा सार्थकता प्रमाणित हुनेछ ।

Author

भरतप्रसाद कोइराला