सात बुँदे सहमति एमाले–माओवादीबीच एकता

सुरेशकुमार यादव/लक्की चौधरी

काठमाडौँ, फागुन ८ गते । वाम गठबन्धनमा आबद्ध दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताहरू रहेको पार्टी एकता संयोजन समितिको बैठकले सातबुँदे सहमति गरी पार्टी एकताको प्रारम्भिक आधार तयार गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति ८ बजेबाट ११ बजेसम्म गरेको छलफलबाट सो आधार तयार भएको हो । सहमतिपत्रमा संयोजन समितिका आठजना नेताले हस्ताक्षर गर्नुभएको छ । सहमतिको एक नम्बर बुँदामा एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ रहने उल्लेख छ । त्यस्तै सहमतिको दुई नम्बर बुँदामा पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद रहने सहमति दुवै दलले गरेका छन् ।
सोहीअनुसार सहमतिको बुँदा नं. ३ मा एमालेले अवलम्बन गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज)ले अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गरेको र माओवादी केन्द्रले पनि शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत नै श्रेष्ठता हासिल गरेको समान धारणाका आधारमा अघि बढ्ने सहमति नेताहरूले गरेका छन् । त्यसका लागि जबज, एक्काइसौँ शताब्दीको जनवादलाई विधिसम्मत रूपले छलफल र बहस गरी परिमार्जन गर्ने सहमतिमा दुवै दल पुगेका छन् । Baluwatar _Meeting
सोही आधारमा टेकी अन्तरिम राजनीतिक प्रतिवेदन र अन्तरिम विधान तयार गरी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गर्ने सहमति दुवै दलले गरेका छन् । त्यस्तै सहमतिको बुँदा नम्बर ६ मा प्राप्त उपलब्धिहरूको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायलाई सुदृढ गर्दै मुलुकको सामाजिक, आर्थिक रूपान्तरणमार्फत समाजवादको आधार निर्माण गर्ने सहमतिपत्रमा उल्लेख छ ।
सहमतिको सातौँ नम्बरमा आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा समझदारीका साथ भव्य रूपमा सम्पन्न गर्न दुवै दलका नेताहरू तयार भएका छन् । सहमतिपत्रमा एमालेबाट अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गर्नुभएको छ ।
त्यस्तै माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ । नेपाल कम्य्ुनिस्ट पार्टी नामको नयाँ पार्टीमा स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी रहने र त्यसको नेतृत्व दुवै दलका अध्यक्षले गर्ने सहमति दुवै दलबीच बनेको छ ।
बैठकपछि पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको इतिहासमा अर्को ‘ब्रेक थ्रु’ भएको बताउनुभयो । उहाँका अनुसार पार्टी नेतृत्व र सरकार दुवैमा आलोपालो हुने तर त्यसको समयसीमाबारे मौखिक सहमति बनेको छ ।
संयोजन समितिका सदस्य एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमका अनुसार एकजनाले सरकारको नेतृत्व सम्हाल्ने र अर्कोले पार्टीको जिम्मेवारी सम्हाल्ने ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ भएको छ । यो विषय सातबुँदे सहमतिमा उल्लेख नभए पनि नेताहरूबीच मौखिक सहमति भएको उपाध्यक्ष गौतमले बताउनुभयो । दुवै दलका अध्यक्षहरू सहसंयोजकको जिम्मेवारीमा रहने नेता गौतमले जानकारी दिनुभयो ।
त्यस्तै नेता गौतमका अनुसार फागुन मसान्तभित्रै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने गृहकार्यका लागि नेताहरूलाई जिम्मेवारी तोकिएको छ ।
बैठकमा एमालेका तर्फबाट प्रधानमन्त्री ओली, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, वरिष्ठ उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलको सहभागिता थियो । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र जनार्दन शर्माको सहभागिता थियो ।
दुईवटा कार्यदल गठन
बैठकले १०–१० जना सदस्य रहने गरी दुईवटा कार्यदल गठन गरेको छ । एउटा कार्यदलका संयोजकमा एमालेबाट माधवकुमार नेपाल र माओवादीबाट नारायणकाजी श्रेष्ठ रहनुभएको छ । त्यसमा थप ८ जना दुवै दलका नेताहरू सदस्यका रूपमा रहनुहुनेछ । सो कार्यदलको नाम राजनीतिक प्रतिवेदन तयार गर्ने कार्यदल रहेको छ ।
त्यस्तै अर्को कार्यदलको संयोजक एमालेबाट ईश्वर पोखरेल र माओवादी केन्द्रबाट देव गुरुङ रहनुभएको छ । त्यसमा पनि दुवै दलका गरी आठ जना थप सदस्य रहनुहुनेछ । यो कार्यदलको नाम अन्तरिम विधान तथा सङ्गठनात्मक संरचना तयार गर्ने कार्यदल रहेको छ ।
बालुवाटारमा उपेन्द्रको प्रवेश
पार्टी एकता संयोजन समितिको बैठक चलिरहेका बेला बालुवाटारमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि प्रवेश गनर््ुभएको थियो । उहाँको प्रवेशलाई महŒवका साथ हेरिएको छ । यसअघि अध्यक्ष यादवले वाम गठबन्धन संविधान संशोधनमा सकारात्मक भए सरकारमा सहभागी हुनसक्ने सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।
मन्त्रिपरिषद् विस्तार हुने
दुवै दलबीच पार्टी एकताको आधार तयार भएपछि माओवादी केन्द्रले दलको तर्फबाट सरकारमा सहभागी हुने निर्णय गरेको छ । त्यसका लागि सम्भवतः मङ्गलबार माओवादीले दलको तर्फबाट मन्त्रीको नाम प्रधानमन्त्री ओलीलाई दिनेछ । नाम प्राप्त भएपछि मन्त्रिपरिषद् सम्भवतः मङ्गलबार साँझसम्म विस्तार हुनसक्ने उपाध्यक्ष गौतमले बताउनुभयो । माओवादी र एमालेबाट केही मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार हुने गौतमले जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना