• १३ वैशाख २०८१, बिहिबार

किराँत समुदायको नयाँ वर्ष सुरु

blog

फिदिम समाचारदाता

फिदिम, माघ २ गते । किराँत लिम्बू समुदायले नयाँ वर्ष मनाएका छन् । यो समुदायले माघेसङ्क्रान्तिका दिन किराँत नयाँ वर्ष मनाउने प्रचलन छ ।

किराँत नयाँ वर्षलाई लिम्बूहरूले ‘कुसङ यले तङबे’ भन्ने गर्छन् । त्यस्तै किराँत राईहरूले ‘यले दुङ’ भन्ने गर्छन् । माघेसङ्क्रान्तिसँगै किराँती पात्रोमा संवत् फेरिने भएकाले माघ १ गतेकै दिन पूर्वी नेपाल थातथलो भएर देश–विदेशमा पुगेका लिम्बू समुदायले किराँत नयाँ वर्ष धूमधामसाथ मनाउने गरेका हुन् । प्रदेश नं. १ को पूर्वी पहाडी जिल्लाहरूमा यो दिनलाई भव्यतापूर्वक मनाइन्छ । यस्तै किराँत लिम्बूहरू सघन बसोबास रहेका काठमाडौँ, ललितपुरसँगै हङकङ र सिङ्गापुरसम्म यो पर्व उल्लासपूर्वक मनाइन्छ ।

यो अवसरमा धान र च्याब्रुङ नाच्नुका साथै वनभोज खाने, कन्दमूल खाने, हाक्पारे, ख्याली र पाःलाम आदि पनि गाउने कार्यक्रम आयोजना गरिएको किराँत याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष चन्द्रकुमार आङदेम्बेले बताउनुभयो ।

किराँती पात्रोअनुसार यो वर्षको माघ १ गतेदेखि यले तङबे ५०८३ सुरु भएको छ । किराँत संवत् नेपालमा हाल प्रचलनमा रहेको विक्रम संवत्भन्दा तीन हजार चार वर्ष जेठो छ । यले तङबे किराँती राजा यलम्बरले नेपालमा शासन सुरु गरेपश्चात् मनाउन थालिएको इतिहास रहेको किराँत इतिहासका जानकार राजेन्द्रप्रसाद जबेगु बताउनुहुन्छ ।

त्यसैले लिम्बू समुदायले माघेसङ्क्रान्तिलाई ककफेवा तङनाम भनेर पनि मनाउँछन् । लिम्बू भाषामा कक भनेको चाँप, फेवा भनेको फुल्ने र तङनाम भनेको सिजन अर्थात् ककफेवा तङनाम भनेको चाँप फुल्ने सिजन हो ।