• १३ वैशाख २०८१, बिहिबार

आन्तरिक उडानमा ठूलो दुर्घटना

blog

मीनराज भण्डारी/रमेश पौडेल/सन्तोष सुवेदी

काठमाडौँ/पोखरा, माघ २ गते । नेपालमा आन्तरिक उडानतर्फ हालसम्मकै सबैभन्दा ठूलो दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ९ एन–एएनसी विमान आइतबार बिहान १०ः५० बजे पोखराको सेतीखोचमा दुर्घटना भएको हो । 

विमानमा ६८ यात्रु र चालकदलका चार सदस्यसहित ७२ जना रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको अनुमान गरिएको छ । तीमध्ये साँझसम्म ६८ जनाको शव प्राप्त भइसकेको छ भने चार जनाको खोजी जारी रहेको छ । विमानको ब्ल्याक बक्स पनि भेटिएको छैन  ।

दुर्घटनाग्रस्त विमान फ्रान्स र इटालीको संयुक्त लगानीको कम्पनी एरोस्पेसबाट निर्माण भएको एटीआर ७२ ५०० रहेको छ । नेपालमा एटीआर विमान दुर्घटना भएको यो पहिलो र यती एयरलाइन्स समूहको यो ११औँ दुर्घटना हो । 

नेपालमा सर्वप्रथम एटीआर विमान नेकोन एयरले सन् २००० अप्रिल २५ मा ल्याएको थियो । नेकोन एयर हाल बन्द भइसकेको छ । हाल यती, बुद्ध एयर र यती एयरलाइन्सले एटीआर विमान सञ्चालन गरिरहेका छन् । युरोपेली सङ्घले लगाएको हवाई प्रतिबन्ध हट्ने अपेक्षा गरिएको बेला भएको यो दुर्घटनाले नेपाली आकाशको सुरक्षामा थप प्रश्न उठेको छ । नेपालमा हवाई दुर्घटनापछिको प्रतिवेदनको आँकडा हेर्दा अधिकांश विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्षका प्रतिवेदन आउने गर्दछन् ।

त्यससँगै व्यवस्थापकीय कमजोरी, दबाब, प्रतिस्पर्धा, पुराना मोडलका जहाज, हवाई कम्पनीले सीमित सङ्ख्यामा मात्र पाइलट राख्ने, लापरबाही र भौगोलिक अवस्थालगायतका कारण दुर्घटना हुँदै आएका उड्डयन क्षेत्रका विज्ञहरू बताउँछन् । 

त्यस्ता त्रुटि कम गर्न कडा कानुनी व्यवस्था तथा नियमित अनुगमनमा जोड दिनुपर्ने आवाज त्यत्तिकै उठ्नेगरेको छ ।

१० सेकेन्डमा दुर्घटना

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त विमानमा चालकदलका सदस्यहरू कमल केसी, अञ्जु खतिवडा, सिर्जना होंगचुन र ओसिन आले मगर हुनुहुन्थ्यो । जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक पाँच जना, रुसी नागरिक चार जना, कोरियाका दुई जना, आयरल्यान्ड, अर्जेन्टिना, फ्रान्सका एक/एक जना यात्रु थिए ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी अनुप जोशीले दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको भए पनि १० सेकेन्डपछि नै खसेको बताउनुभयो । 

उहाँका अनुसार विमानको प्राविधिक कारणले दुर्घटना भएको आशङ्का गरिएको छ । अवतरणको अनुमति उहाँले नै दिनुभएको थियो ।

प्रत्यक्षदर्शी विष्णु तिवारीका अनुसार जहाज अवतरणका लागि कम उचाइमा आइरहेको बेला अस्वाभाविक रूपमा कोल्टे परेको थियो । उहाँले भन्नुभयो– “केही सेकेन्डमा विमान बजारिएको आवाज आयो र हामी छ जना तत्काल उद्धारका लागि खटियौँ । आगोको लप्काले म पनि सामान्य घाइते भएँ । हामीले उद्धार गरेका एक यात्रु जीवितै थिए । अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हुनसक्छ ।”

अर्का प्रत्यक्षदर्शी पत्रकार गोविन्द सुवेदीले जहाज किन यता आयो भन्ने लागेको आशङ्का हुँदाहुँदै जहाज एकाएक दुर्घटना भयो । नयाँ विमानस्थलतर्फ अवतरण गर्न मोडिएको अवस्थामा विमान घना बस्तीमाथि उडिरहेको थियो । सम्भवतः चालकले बस्तीमा विमान खस्नबाट जोगाउने प्रयास  गरेका थिए ।

दुर्घटना स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी छ सयका साथै पोखरा महानगर प्रहरीसहितको टोलीले उद्धार गरेको पश्चिम पृतनाका पृतनापति उपरथी दीपककुमार बानियाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी सनाखत भएका यात्रुको शव भोलिदेखि प्रक्रिया पु-याई आफन्तलाई जिम्मा लगाइने तयारी रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो । 

उद्धार गरिएका यात्रुको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । प्रतिष्ठानका निर्देशक प्राडा भरतबहादुर खत्रीका अनुसार अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा छन् ।

माछा मार्न गएका घाइते

दुर्घटनामा सेतीखोचमा माछा मार्न गएका दुई स्थानीयलाई सकुशल उद्धार गरिएको छ । उनीहरूले माछा मार्दै गर्दा विमान सेतीखोचमा खसेको थियो । माछा मार्न गएका कुमार आलेको ढुङ्गा खसेर खुट्टामा चोट लागेको थियो । उनले ओडारमा बसेर ज्यान जोगाएका थिए ।