• ७ वैशाख २०८१, शुक्रबार

राष्ट्रिय विपद् व्यवस्थापन समितिको बैठक

सूचना प्रवाहमा मृतकका परिवारलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन

blog

उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले सम्बद्ध अधिकारीलाई निर्देशन दिँदै । तस्बिर : गृहमन्त्रीको निजी सचिवालय

गोरखापत्र अनलाइन 

काठमाडौं, माघ १ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठकले मृतकका परिवारलाई पहिलो प्राथमिकतामा राखेर सूचना प्रवाह गर्न निर्देशन दिइएको छ ।

बैठकले त्यसपछि  दोस्रोमा विदेशी नागरिकको सम्बन्धमा सम्बन्धित मिसन र दूतावास र तेस्रोमा सञ्चारकर्मीलाई सूचना प्रवाह गर्न प्राथमिकता तय गरेको छ । 

आइतबार बिहान पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएपश्चात् मृतकहरूको पहिचान, शव व्यवस्थापन, बीमा सहजीकरण तथा मृतकका परिवारजनलाई आगामी दिनमा सहजीकरण गर्ने सम्बन्धमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा गृह मन्त्रालयमा सो बैठक बसेको थियो । 

गृहमन्त्री लामिछानेको निजी सचिवालयका अनुसार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठक बसेको हो । 


बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले सम्बद्ध अधिकारीलाई निर्देशन दिँदै भन्नुभयो, ‘‘पहिलो मृतकका परिवारलाई, दोस्रो विदेशी नागरिकको सम्बन्धमा सम्बन्धित मिसन र दूतावासलाई र तेस्रो सञ्चारकर्मीलाई। साथै मृतकका परिवारलाई आवश्यक सहजीकरणको लागि विमानस्थल क्षेत्रमा र पोस्टमार्टम हुने शिक्षण अस्पतालमा समेत छुट्टै कक्षको व्यवस्था गर्नुपर्छ ।’’ 

उक्त बैठकमा गृह मन्त्रालयलगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखहरू लगायत सरोकारवालाको सहभागिता थियो। 

घटनाप्रति दुःख व्यक्त गर्दै पोस्टमार्टम, बीमाका प्रावधान आदिमा सहजीकरण गर्ने, दुर्घटनामा मृतकका विक्षिप्त भएका परिवारलाई आवश्यक सूचना तथा जानकारी दिई शव व्यवस्थापनलगायतका चरणमा आवश्यक काउन्सिलिङलगायत सहजीकरण गर्न सरोकारवाला सबैलाई गृहमन्त्री लामिछानेले निर्देशन दिनुभयो।