• १३ वैशाख २०८१, बिहिबार

पोखरा विमान दुर्घटना

शव पहिचान र उद्धार कार्य जारी

blog

सेतीको खोँचमा उद्धार कार्यमा खटिएका नेपाली सेनाका उद्धारकर्ताहरू । तस्बिर : नेपाली सेना, पश्चिम पृतनालय

रमेश पौडेल 

पोखरा, माघ १ गते । पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्समा सवार यात्रुमध्ये साँझसम्म २३ जनाको शव पहिचान भएको छ ।

अस्पतालमा ल्याइ पुर्‍याएका शवहरूको पोस्टमार्टम गर्ने क्रममा ती शवको पहिचान भएको जानकारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको छ । 

उता उद्धार कार्यमा खटिएको नेपाली सेनाले भने उद्धार कार्यलाई जारी राखेको छ । उद्धार कार्यमा रहेको नेपाली सेनाको उद्धार टोलीले आइतबार साँझ ५ बजेसम्म ६८ शव निकालेको छ । चार शव खोँचमा रहेको र निकाल्ने प्रयास भइरहेको जानकारी नेपाली सेनाको पश्चिम पृतनापति दीपक बानियाँले दिनुभयो ।

सो विमानमा चालक दलका सदस्यसहित ७२ यात्रु सवार थिए । 

सोही विमानमा सवार पत्रकार त्रिभुवन पौडेलको शव पनि नेपाल पत्रकार महासङ्घका पदाधिकारीले पहिचान गर्नुभएको छ । 

दुई सयभन्दा बढी विशेष फौज संलग्न    

नेपाली सेनाले काठमाडौँ–पोखरा उडानमा रहेको यति एयरलाइन्सको विमान दुर्घटनापछि तत्काल खोजी तथा उद्धारमा दुई सयभन्दा बढी विशेष फौज परिचालन गरेको जानकारी दिएको छ ।     

राससका अनुसार, विमान दुर्घटना भएको सूचना प्राप्त हुनासाथ त्यहाँ तैनाथ खोज तथा उद्धार कार्यमा तालिम प्राप्त दुई सयभन्दा बढी विशेष फौज परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।     

 नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय अन्य सङ्घसंस्था र निकायको समन्वयमा सेनाले उद्धार कार्य गरिरहेको उहाँले बताउनुभयो । 

विमान अप्ठेरो खाँचमा दुर्घटना भएकाले सेनासहितका सुरक्षाकर्मीले तत्काल आगो निभाउने र छरिएर रहेका शवलाई डोरी, भर्‍याङ र विशेष उपकरणको सहयोगमा निकाल्ने काम गरिरहेको छ ।