• ७ वैशाख २०८१, शुक्रबार

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन

शोक मनाउन सोमबार सार्वजनिक बिदा

blog

पोखरामा भएको विमान दुर्घटनापछि आकस्मिक बसेको मन्त्रिपरिषद् बैठक । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, माघ १ गते । नेपाल सरकारले यति एयरलाइन्स विमान दुर्घटनाका परी  निधन हुनुभएका यात्रुहरूप्रति गहिरो शोक प्रकट गर्दै सोमबार शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज (आइतबार) प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको हाे ।

सकारका प्रवक्ता एवम् उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले साे कुराको जानकारी दिनुभयाे ।

बैठकले गरेको निर्णयबारे जानकारी दिनुहुँदै मन्त्री पौडेलले भन्नुभयो, ‘‘घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतहरूप्रति श्रद्धाञ्जलि र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । शोकपूर्ण घटनाका सन्दर्भमा माघ २ गते शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।’’

यसैगरी, मन्त्रिपरिषद् बैठकले उक्त घटनाको कारण जाँच गर्नका लागि पाँच सदस्यीय जाँच आयोग पनि गठन गरेको छ ।

दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरिएको हो । आयोगमा सदस्यहरु हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा र सदस्य सचिव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ ।

यो पनि पढ्नुहोस

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित

विमान दुर्घटनाः ४२ जनाको शव निकालियो

भीडका कारण घटनास्थलसम्म एम्बुलेन्स छिर्न कठिनाइ

त्यस्तै, घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ । यसैगरी, प्रवक्ता पौडेलले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको पनि जानकारी दिनुभयो । बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको छ ।