• १३ वैशाख २०८१, बिहिबार

अयोध्या लैजाने शिलाको पूजा

blog

अयोध्या लैजान लागिएको शिलाको कालिगण्डकी नदीमा पूजापाठ गरिँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी (बेनी), माघ १ गते । हिन्दुहरुको प्रसिद्ध धार्मिकस्थल भारतको अयोध्यामा भगवान राम र सीताको मुर्ति बनाउन लैजान लागिएको कालिगण्डकीको शिलाको आइतबार पूजापाठ गरिएको छ । बेनी नगरपालिका ६ गलेश्वर क्षेत्रस्थित कालिगण्डकी नदी किनारमा पहिचान गरिएका दुईवटा शिलाको धार्मिक विधिअनुसार पूजापाठ गरिएको हो । 

मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिलालाई भारतको अयोध्यामा लगेर भगवान् राम र सिताको मुख्य मूर्ति बनाउन प्रयोग गरिने भएको हो । 

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, अयोध्यास्थित राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकज र जानकी मन्दिरका महन्तलगायतले शिलाको पूजापाठ गर्नुभयो ।  

उच्चस्तरीय टोलीले अवलोकन गरेपश्चात आइतबार पूजापाठ गरिएको छ । अयोध्यामा निर्माणाधिन राम मन्दिरमा कालीगण्डकीको शिलालाई मुख्य मुर्तिका रुपमा राख्न लैजान लागिएको बेनी नगरपालिकाका प्रमुख केसीले बताउनुभयो । भूगर्भविद्, शिलाविद्, प्राविधिक र विज्ञ समेतको टोलीले दुई साताको समय लगाएर कालीगण्डकीमा दुई थान शिलाको पहिचान गरेका थिए । 

शिला उपहारस्वरुप दिइएको हो । अयोध्यामा शिला उपहारका समन्वयकर्ता एवम् नेपाली कांग्रेसका नेता निधिले गलेश्वर क्षेत्रस्थित कालिगण्डकीको शिला भारतको अयोध्यामा लग्दा  नेपाल र भारतबीच धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।   

भारतले रामको मुख्य मुर्ति बनाउन कालीगण्डकीकै शिला लैजाने इच्छा व्यक्त गरेपछि आफुले समन्वय गरेर नेपालको तर्फबाट अयोध्यामा कालीगण्डकीको शिला उपहार पठाउने प्रक्रिया अघि बढाइएको निधिले बताउनुभयो ।  

देवशिलाको नाम दिइएका दुई शिला १ हजार बर्षभन्दा बढी टिक्ने पुष्टि भएको छ । प्रदेश सरकारको शिक्षा, विज्ञान तथा संस्कृति मन्त्रालयका उपसचिव भोजराज न्यौपानेको नेतृत्वमा राम मन्दिर निर्माण समितिका सचिव पंकज, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस पोखराका उपप्राध्यापक नवराज न्यौपानेसहितको टोलीले पहिचान गरेर नाँपजाँच गर्नुभएको थियो । 

गण्डकी प्रदेश सरकारले जनकपुरमा लगेर मधेस प्रदेश सरकारलाई हस्तान्तरण गर्ने उक्त शिलालाई बेनी नगरपालिकाले भव्य भजनकृर्तन र बाजागाजा सहित विदाई गरिने बेनी नगरपालिकाका प्रमुख केसीले बताउनुभयो । क्षेत्रको धार्मिक र सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।