• १३ वैशाख २०८१, बिहिबार

थारू बस्तीमा माघीको रौनक

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज,पुस १ गते । पश्चिम तराईका दाङ, बाँके र बर्दियाका थारू बस्तीमा यतिबेला जताततै माघीको रौनक छाएको छ । थारू समुदायको मुख्य पर्व माघी आइतबार परेकाले थारू बस्ती माघीमय बनेका छन् । 

माघी पर्व आउनुभन्दा साता दिनअघिबाटै माघी पर्वको रमझम सुरु भइसकेको बाँकेको राप्तीसोनारी निवासी हेमन्त चौधरीले बताउनुभयो । उहाँका अनुसार माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । यस पर्वलाई थारू समुदायले बरका तेउहार (ठूलो पर्व)का रूपमा मनाउँछन् ।

थारू संस्कृति झल्कने नृत्यले गाउँघर गुञ्जायमान भइरहेको जनाउँदै बाँके कोहलपुर मैटहवा निवासी राजेन्द्र चौधरीले थारू बस्तीमा युवा मघौटा, सखिया र हुरदङ्गा नाच नाच्न व्यस्त रहेको बताउनुभयो ।  उहाँका अनुसार दशैँतिहारमा घर नआएका व्यक्ति माघीमा आउने गर्छन । यसले थारू बस्तीमा बेग्लै रौनक छाउने गरेको छ । विभिन्न स्थानमा माघी मिलन र शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएका छन् । 

थारू समुदायका अगुवाका अनुसार थारूहरूले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजनाअनुसार नै परिवारका सदस्य आ–आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गर्ने गरिन्छ ।

थारू कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद चौधरीले यतिबेला थारू बस्तीका चोकचोकमा युवाको जमघट बढेको जनाउँदै बाहिरबाट आएकाहरू साथीभाइ, आफन्त, इष्टमित्रसँग आत्मीयता साटासाट गर्नमा व्यस्त रहेकाले माघीको रमाइलो माहोल देखिएको छ ।  थारू समुदायमा माघेसङ्क्रान्तिको अघिल्लो दिन रातभर जाग्राम बसेर भजन कीर्तन गर्ने चलन छ । बिहान नजिकैको खोला नदीमा नुहाउने गरिन्छ । यस दिन खोला नदीमा गई नुहाउँदा वर्षभरिको पाप पखालिने जनविश्वास छ । 

नुहाइवरी आफूभन्दा ठूला मान्यजनलाई सेवाढोग गरी आशीर्वाद लिने र साथीभाइसँग 

अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ । यो पर्वमा थारू जातिले विशेष परिकारका रूपमा ढिकरी (चामलको पिठोबाट बनाइने परिकार), माछा, घुँगी, सुँगर वा बङ्गुरको मासु र जाँड खाने तथा खुवाउने चलन छ ।

माघीमा गाउँका सबै जना जम्मा भएर वर्ष दिनका लागि बड्घर (गाउँको अगुवा), चौकीदार र गुरुवा चयन गर्ने गरिन्छ । माघीमा चयन गरिने अगुवाले वर्ष दिनभरि गाउँको विकास निर्माण, सुरक्षा, सूचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने गर्छन् ।