• १६ चैत २०८०, शुक्रबार

खानेपानीका पैँतालीस योजना

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, माघ १ गते । बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुली जिल्लाका विभिन्न स्थानमा चालू आर्थिक वर्षमा खानेपानीका ४५ वटा योजना सञ्चालन हुने भएका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन नं. ४ रामेछाप फिल्ड कार्यालय सिन्धुलीका अनुसार ती योजनामध्ये २८ वटा चालू आव २०७९÷८० का नयाँ योजना र बाँकी तीन वर्षभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएका बहुवर्षीय योजना छन् ।

नयाँ योजनाका लागि चार करोड २० लाख रुपियाँ र पुराना १७ वटा योजनाका लागि करिब नौ करोड रुपियाँ बजेट बागमती प्रदेश सरकारबाट विनियोजन भएको 

फिल्ड कार्यालय सिन्धुलीका प्रमुख मनोजकुमार मण्डलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ २८ वटा योजनामध्ये १५ वटाको चालू आवमा विस्तृत 

परियोजना प्रस्ताव तयार गरी आगामी आवमा सम्झौता हुनेछ । बाँकी १३ वटा योजना मर्मतसम्बन्धी छन् ।”

त्यस्तै विगत तीन वर्षभन्दा बढी समयदेखि जिल्लाका विभिन्न भागमा सञ्चालन हुँदै आएका योजना १७ वटा रहेको र बर्सेनि आउने न्यून बजेटका कारण ती योजना कहिले सम्पन्न हुने भन्ने निश्चित नरहेको उहाँको भनाइ छ । कार्यालय प्रमुख मण्डलका अनुसार ती योजना चालू आवमा कार्यान्वयनका लागि सम्झौता भइरहेका छन् । धेरैजसो योजना उपभोक्ता समितिमार्फत र केही ठेक्कामार्फत निर्माण भइरहेका छन् ।

अहिलेसम्म २५ प्रतिशत योजनाको सम्झौता सकिएको उहाँले सुनाउनुभयो । सङ्घीय सरकारले ठूला योजना, प्रदेश सरकारले मझौला योजना र स्थानीय सरकारले साना योजना सञ्चालन गर्ने नीतिअनुरूप बागमती प्रदेश सरकारको सहयोगमा ती खानेपानी योजना सञ्चालन भएका कार्यालयले जनाएको छ । 

जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा बढ्दो सहरीकरणसँगै खानेपानी समस्या समाधान गर्न बागमती प्रदेश सरकारकै आर्थिक सहयोगमा दैनिक १० लाख लिटर खानेपानी थप्न गत तीन वर्षदेखि खानेपानी योजना निर्माणाधीन छ । 

सदरमुकाममा खानेपानी आपूर्ति गर्दै आएको सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाले बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा थप दुईवटा नयाँ मुहानमा योजना सञ्चालन गरी खानेपानी थप्न लागेको जनाएको छ । 

संस्थाको १५ प्रतिशत लगानीसहित प्रदेश सरकारको २१ करोड रुपियाँ लगानीमा बहुवर्षे योजनाअन्तर्गत सम्झौता गरी योजना निर्माणको काम हुँदै आएको संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कमलामाई नगरपालिका ४ र ५ को बीचमा लब्दाह खोला र कमलामाई नगरपालिका–७ स्थित गँड्यौली खोलामा नयाँ मुहान बनाई लिफ्ट खानेपानी योजना निर्माण हुँदै आएको छ । पानी सङ्कलनका लागि छवटा ट्याङ्की र दुईवटा लिफ्ट खानेपानी योजना निर्माण गरी सदरमुकामको खानेपानीलाई व्यवस्थित गरिने उहाँको भनाइ छ ।

उहाँका अनुसार हाल कमलामाई नगरपालिका–४ स्थित ग्वाङ खोला र कमलामाई नगरपालिका–७ स्थित गँड्यौली खोला गरी दुईवटा मुहानबाट दैनिक २५ लाख लिटरको हाराहारीमा खानेपानी 

आपूर्ति गरी सदरमुकामका २५ हजार उपभोक्तालाई वितरण गरिँदै आएको छ । नयाँ योजना सम्पन्न भएपछि अहिले भइरहेको तीन हजार पाँच सय धारामा थप तीन हजार धारा थपिने अनुमान गरिएको छ ।

अहिले भइरहेको योजनाले खानेपानीको माग धान्न नसकेकोले नयाँ योजना सञ्चालन गर्नु परेको संस्थाका अध्यक्ष श्रेष्ठको भनाइ छ ।