• १३ वैशाख २०८१, बिहिबार

राजनीतिक एलाइन्स टिकाउन प्राज्ञिक बहस जरुरी छ : उपमहासचिव ज्ञवाली

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ३० गते । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने अहिले बाध्यात्मक अवस्था रहेको बताउनुभएको छ । मुलुकको राजनीतिक स्थायित्वका लागि पनि सत्तारुढ गठबन्धनलाई टिकाएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता सङ्घर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’ को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मुलुकमा राजनीतिक स्थायित्वको नाममा राजनीतिक प्रणालीमा भने पुनर्विचार गरेर जाने अवस्था तत्कालका लागि नभएको उहाँको भनाइ छ । उपमहासचिव ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्वका लागि प्राज्ञिक बहसको मागसमेत गर्नुभयो । निर्वाचनअघिको गठबन्धन पनि नटिक्ने र पछिको गठबन्धन पनि टिकाउ नभएमा मुलुक समस्यामा पर्ने उहाँले तर्क गर्नुभयो । उपमहासचिव ज्ञवालीले राजनीतिक स्थायित्वका लागि राजनीतिक विचारधारामा आधारित, उद्देश्यमा आधारित गठबन्धन बनाएर मुलुकको राजनीतिलाई अघि बढाउनुको विकल्प नरहेको प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘एकदमै छिटो प्रणालीमा पुनर्विचार वाञ्छनीय कुरा होइन, हरेक पटक समस्यालाई हामीले चलाउन नसक्ने, धुलो आफ्नो निधारमा लागेको छ । गाडीको ऐना पुछेको पुछ्यै गरेर समाधान खोज्ने कुरा पनि सायद व्यवहारिक होइन ।” दलहरुको बीचमा टिकाउखालको एलाइन्स जरुरी रहेको उहाँको भनाइ छ । 

राजनीतिक स्थायित्वका निम्ति पनि त्यो आवश्यक रहेको उहाँले दाबी गर्नुभयो । हामीकहाँ निर्वाचनपूर्व बनाइएका एलाइन्सहरु नटिक्ने र निर्वाचनलगत्तै त्यसले बेग्लै कोर्स लिने खालको स्थिति बनेको उहाँले बताउनुभयो ।

“निर्वाचनमा मतदाताले एउटा एलाइन्समा भोट हाल्छन् । तर काठमाडौं आइपुग्दा नपुग्दै एलाइन्स भत्किन्छ । फेरि नयाँ ढङ्गले एउटा कोर्स सुरु हुन्छ भने यो अहिलेको हाम्रो निर्वाचन प्रणाली र एलाइन्सहरु टिकाउ हुनसक्दैन” पूर्वमन्त्रीसमेत रहनुभएका ज्ञवालीले थप्नुभयो, “असाध्यै ठूलो चुनौती हाम्रासामु छ, यसका लागि प्राज्ञिक बहसहरु ओपन गर्नुपर्छ ।” भर्खरै संविधान परिवर्तन गरिहाल्ने, संविधानका कतिपय प्रावधानह परिवर्तन गरिहाल्ने बेला पनि यो नरहेको उहाँको बुझाइ छ ।

राजनीतिक स्थायित्व खोज्ने हो भने दिगो पोलिसी बेस्ड, उद्देश्यमा आधारित एलाइन्स बन्नुपर्छ उहाँले भन्नुभयो । यो प्रश्नमा पनि हामीले घोत्लिनु पर्लाजस्तो मलाई लाग्छ ज्ञवालीले बताउनुभयो । उपमहासचिव ज्ञवालीले अहिलेको निर्वाचन प्रणाली र एलाइन्सहरु टिकाउ हुन नसक्नुको कारणबारे खोजी गर्न आजैबाट छलफलमा लाग्न जरुरी रहेको चर्चा गर्नुभयो ।