• ८ वैशाख २०८१, शनिबार

गण्डकीको सभामुखमा धिताल निर्वाचित

blog

गण्डकी प्रदेशको सभामुखमा निर्वाचित कृष्णप्रसाद धिताल । तस्बिर : गोरखापत्र

रमेश पौडेल

पोखरा, पुस ३० गते  । गण्डकी प्रदेशको बिहीबार सम्पन्न प्रदेश सभामुखको निर्वाचनमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित हुनुभएको छ । धिताल गठबन्धनका तर्फबाट एमाले र राप्रपाको सहयोगमा निर्वाचित हुनुभएको हो ।

उहाँको प्रस्तावकमा रोशन गाहामगर र समर्थकमा फणीन्द्र  देवकोटा  रहनुभएको थियो । उहाँले ३२ मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्रीको विश्वासको मतमा सहभागिता नजनाउनुभएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले संसदमा उपस्थित भई सत्ता गठबन्धनको तर्फबाट धिताललाई मतदान गर्नुभएको छ । 

धितालका निकटतम प्रतिद्वन्द्वी प्रतिपक्षी दल नेपाली कांग्रेसकी सरस्वती अर्यालले २६ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका महेन्द्रध्वज जिसी निर्वाचनमा अनुपस्थित हुँदा पाउनुपर्ने २७ मतमा २६ मत प्राप्त गर्नुभएको हो ।

उहाँ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुनुहुन्छ । सभामुखको उम्मेदवारीमा अर्यालको प्रस्तावकमा कांग्रेसकै डिल्लीराम सुवेदी र समर्थकमा डा. टकराज गुरुङ रहनुभएको थियो । ६० सदस्य रहेको गण्डकी प्रदेशमा सत्तागठबन्धनमा ३३ मत छ भने प्रतिपक्षतर्फ २७ मत छन् ।