• ६ वैशाख २०८१, बिहिबार

औषधि अभावले स्वास्थ्य संस्था जान छोडे बिरामी

blog

औषधि । फाइल तस्बिर

यादवराज पुरी
रौतहट, पुस ३० गते । 
चन्द्रपुर नगरपालिका–९ डुमरियामा रहेको स्वास्थ्य चौकीमा उपचारको लागि बिरामी जान छोडेका छन् । निःशुल्क उपलब्ध हुने औषधि अभाव भएपछि स्वास्थ्य चौकीमा बिरामी जान छोडेका हुन् ।

पालिकाले नै औषधिको प्रबन्ध गरी मातहतका अस्पताल र स्वास्थ्य चौकीमा पठाउनु पर्ने प्रावधान छ । उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष टिका घिमिरे भन्नुहुन्छ, “नगरपालिकाको उदासीनताले सरकारले निःशुल्क उपलब्ध गराउने औषधिबाट नागरिक वञ्चित हुनु परेको छ । यसतर्फ पालिका संवेदनशील हुनुपर्छ ।”

स्वास्थ्य चौकीमा औषधि अभाव रहेको भन्दै तीन महिना अघि नै नगरपालिकामा माग फारमसहित औषधिको विवरण पेस गरेको चौकीका सिनियर अहेव जयलाल पण्डितले बताउनुभयो । उहाँका अनुसार औषधि अभाव भएपछि स्वास्थ्य उपचार गराउन आउने बिरामीको सङ्ख्या ह्वात्तै घटेको छ ।

नगरपालिका भित्र तीन वटा सहरी स्वास्थ्य केन्द्र, चार वटा स्वास्थ्य चौकी र एउटा अस्पताल सञ्चालनमा छ । अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थामा कुनै पनि प्रमुख औषधि नपाइने जनगुनासो छ । यद्यपि, सरकारले सरकारी स्वास्थ्य संस्थाबाट नागरिकलाई ७१ किसिमका औषधि निःशुल्क उपलब्ध गराउनु भनेको छ ।

नगरपालिमा केही औषधि आई सकेको र केही आउन बाँकी रहेको जानकारी दिनुहुँदै नगरपालिकाको स्वास्थ्य शाखाका उपप्रमुख मात्रिका चालिसेले दुई तीन दिन भित्रै पालिकाका सबै स्वास्थ्य संस्थामा औषधि पठाइने बताउनुभयो ।

यता पालिका प्रमुख सञ्जय काफ्लेले पालिका भित्रका स्वास्थ्य संस्थाका लागि निःशुल्क उपलब्ध गराइने औषधि ‘शून्य’ कमिसनमा खरिद गर्न लागेकाले केही ढिलो भएको बताउनुभयो । उहाँकाअनुसार औषधि खरिद प्रक्रिया पूरा भई औषधि आउने क्रम जारी छ । यथाशीघ्र सबै स्वास्थ्य संस्थामा औषधिको आवश्यकता पुरा हुन्छ ।