• १६ चैत २०८०, शुक्रबार

वन्यजन्तुबाट एक वर्षमा आठ जनाको ज्यान गयो

blog

जयकृष्ण यादव 

इनरुवा, पुस ३० गते । सुनसरीको कोसी गाउँपालिका क्षेत्रमा कोसीटप्पु वन्यजन्तु आरक्षका अर्ना र हात्तीको आतङ्क कायमै छ । यस हप्तामा दैनिक रूपमा स्थानीयको खेतमा अर्ना आएको एक दर्जनभन्दा बढी घटना छन् । त्यस क्रममा बालीको क्षतिसँगै कोसी–३ का मनोहर साह र राजेन्द्र साह भैँसी चराउने क्रममा अर्नाको आक्रमणबाट घाइते हुनुभयो । 

अर्नाले कयौँ स्थानीयको बाली खाई कुल्ची क्षति गरेको छ भने सामान्यदेखि गम्भीर घाइते हुनेगरी आक्रमण गरेको कोसी गाउँपालिका–३ का वडाध्यक्ष सुलेमन मन्सुरीले जानकारी दिनुभयो । केही घाइतेलाई आफूले नै विराटनगरसम्म उपचार गराएर ल्याएको उहाँले सुनाउनुभयो । 

मन्सुरीले भन्नुभयो, “यसपालि जतिजति जाडो बढिरहेको छ, त्यतित्यति कोसी क्षेत्रमा अर्ना र हात्ती आतङ्क बढेको छ । अर्ना र हात्तीको तनाव कायमै रहेकाले विपन्न समुदायको बिचल्ली भएको छ ।”

पर्यटकीय क्षेत्र भनिएको कोसीटप्पु वन्यजन्तु आरक्षमा पर्यटक कम तर त्यहाँबाट निस्केर गाउँ पस्न आएका जङ्गली अर्ना र हात्तीको कारणले तानव र त्रास बढी भएको उहाँको भनाइ छ । 

कोसी क्षेत्रमा आर्थिक वर्ष २०७८।७९ मा हात्तीको आक्रमणबाट आठ जनाको मृत्यु भएको छ भने सोही सङ्ख्यामा सख्त घाइते भएका छन् । उनीहरूका परिवारलाई जनही १० लाख रुपियाँका दरले ८० लाख रुपियाँ वितरण गरिएको आरक्षका संरक्षण अधिकृत रमेशकुमार यादवले जानकारी दिनुभयो । आरक्षले सिरहादेखि पूर्व झापासम्मको हात्ती अक्रमणबाट मत्यु भएको विवरण राख्ने गरेको छ । हात्तीले २६३ स्थानमा भण्डारण गरेको अन्न खाई नष्ट गरेको छ । 

हात्तीले ३०२ वटा घरटहरामा क्षति गरेको छ भने किसानको अन्नबाली ४३१ स्थानमा खाएर नष्ट गरेको तथ्याङ्क छ । हात्तीले मात्रै एक वर्षमा मानवीय क्षतिसहित एक हजार १२ वटा घटना गरेको तथ्याङ्कीय विवरण रहेको आरक्षका संरक्षक अधिकृत यादवले बताउनुभयो । 

कोसीटप्पु क्षेत्रमा चितुवाको आतङ्कबाट २८ पशु चौपायामा क्षति भएको छ । आरक्षको आकर्षकका रूपमा रहेको, विश्वमै लोपोन्मुख अवस्थाको जङ्गली भैँसी (अर्ना) को आक्रमणबाट दुई जना सामान्य घाइते पाँच जना गम्भीर घाइते भएका छन् । अर्नाले आरक्ष आसपास मध्यवर्ती क्षेत्रका १७५ जना किसानको बालीमा नोक्सानी गरेको छ । अर्नाले १८२ वटा घटना गरेको आरक्ष प्रशासनको कथन छ । यहाँ गौरी गाईले एक जनालाई सख्त घाइते बनाएको छ । आरक्षको जङ्गली जनावरले एक हजार २२३ वटा घटना गरेको तथ्याङ्क छ । 

साउनदेखि मङ्सिरसम्ममा दर्जनौँ घटना भएको र निवेदन आउने क्रम जारी रहेको छ भने पुस महिनामा मात्रै दुई जना घाइते भएको र एक दर्जन बढी किसानको बालीमा नोक्सानी गरेकोले स्थानीय त्रसित बनेका हुन् । कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले दीर्घकालीन समाधानका लागि सङ्घीय सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । 

आरक्षबाट निस्केका हात्तीको आक्रमणबाट दशक यता २२ जनाको मृत्यु भइसकेको आरक्षबाट क्षतिपूर्ति पाएकाहरूको विवरणले पुष्टि गरेको छ । सरकारको निर्णयानुसार आर्थिक वर्ष २०७८/७९ मा वन्यजन्तुबाट आक्रमण भई सामान्य घाइते भएकालाई २३ हजार ३१३ रुपियाँ, सख्त घाइते भएकालाई १६ लाख १५ हजार ८३९ रुपियाँ, मानिस मृत्यु भएकाको परिवारलाई ८० लाख रुपियाँ, पशुधनको क्षतितर्फ दुई लाख २३ हजार रुपियाँ, भण्डारण गरेको अन्‍नको क्षति गरेकोबापत १३ लाख एक हजार २७२ रुपियाँ, घरगोठको क्षतिबापत १५ लाख २८ हजार ८८० रुपियाँ र अन्‍नबालीको क्षतिबापतको ५१ लाख ३७ हजार ७८० रुपियाँ गरी कुल एक करोड ७८ लाख ३० हजार ८४ रुपियाँ वितरण भएको छ ।