• ८ वैशाख २०८१, शनिबार

गण्डकीका मुख्यमन्त्री अधिकारीले लिनुभयो विश्वासको मत

blog

विश्वासको मत प्राप्त गर्नुभएपछि मुख्यमन्त्री खगराज अधिकारी सञ्चार माध्यममा प्रतिक्रिया दिनुहुँदै । तस्बिर : रासस

रमेश पौडेल

पोखरा, पुस २९ गते । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेश संसदमा विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसदमा प्रस्ताव पेस गर्नुभएकोमा उहाँको पक्षमा ३१ मत परेको छ । 

विपक्षीमा २७ मत मात्र परेको छ । उहाँलाई एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ जना सदस्यले समर्थन गर्नुभयो । स्वतन्त्र लडेर चुनाव जित्नुभएका राजीव गुरुङ (दीपक मनाङे) भने उपस्थित हुनु भएन । 

नेपालको संविधान १६८ (४) बमोजिम मुख्यमन्त्रीले नियुक्तिको मितिले ३० दिनभित्र संसद् समक्ष विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उहाँले भन्नुभयो, ‘हामीले प्रदेशको औचित्य पुष्टि गर्नुपर्ने छ । प्रदेशको आवश्यकतामाथि प्रश्न उठेको छ । तर प्रदेश जनताको नजिकको सरकार हो । 

हाम्रा केही कमजोरी भए सुधार गरेर आपसमा विश्वासबाट अघि बढ्नु पर्नेछ । यो भूमिको माटो समातेर कसम खानुपर्ने छ । भ्रष्टाचार खानु आमाको रगत खानु बराबर हो ।’

यसअघि कानुन र बजेट निर्माणमा योगदान गर्ने प्रदेशका दुवै सरकारलाई उहाँ धन्यवाद दिनुभयो । समयमा निर्माण आयोजना पूरा नगर्दा प्रश्न उठाउनेलाई प्रश्रय मिलेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रदेशले रोजगारी सिर्जना गर्न नसक्दा युवाहरू बिदेसिएका छन् ।’ यी समस्या समाधान गर्न मेरो नेतृत्वको सरकारले भरमग्दुर प्रयास गर्नेछ । प्रदेशको कार्य सम्पादनलाई डिजिटलाइज्ड गरिनेछ । अस्पतालको स्वास्थ्य सुविधा बिस्तार गरी सबै रोगको सहज उपचारको व्यवस्था मिलाइने छ ।

कृषियोग्य जमिनमा बाह्रैमास सिँचाइको सुविधा दिइने र कृषि बीमालाई प्रभावकारी बनाउने सरकारले प्रतिबद्धता गरेको छ । सबै घरमा विद्युत विस्तार गरी उज्यालो प्रदेश अभियानलाई साकार रूप दिइने पनि बताएको छ । 

गत पुस २५ मा मात्र नेकपा (एमाले) संसदीय दलका नेता अधिकारी एमाले, माओवादी, राप्रपा र एकीकृत समाजवादीको एक सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । गण्डकीको प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधान १६८ (२) बमोजिम उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । 

६० सदस्यीय प्रदेशसभामा यहाँ ४ मङ्सिरको चुनावबाट ३६ सिट प्रत्यक्ष तथा २४ सिट समानुपातिक निर्वाचन प्रणालीबाट सदस्य चुनिएका थिए । जसमध्ये नेपाली कांग्रेस २७,  एमालेको २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र १ (पछि एकीकृत समाजवादीमा प्रवेश) सदस्य छन् । एमालेका मित्रलाल बस्याल ज्येष्ठ सांसद भएकाले सभाध्यक्षको हैसियतमा हुनुहुन्छ ।