• १३ वैशाख २०८१, बिहिबार

विदेशी चलचित्रको कर होलसेलमा उठाएर नेपाली फिल्मलाई समस्यामा नपारौं : नवल खड्का

blog

शुक्रबार काठमाडौंमा भएको चलचित्र निर्माताको बृहत भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा सहभागी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्कालगायत ।

काठमाडौं, पुस २९ गते। चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले विदेशी फिल्म नेपालमा भित्र्याउँदा उनीहरूबाट किनेर ल्याएको मूल्य अनुसारको कर लागू गर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई आग्रह गर्नुभएको छ। 

शुक्रबार काठमाडौंमा भएको चलचित्र निर्माताको बृहत् भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो। 

उहाँले विदेशी फिल्म किनेर ल्याएको मूल्यअनुसारको कर नउठाउने बोर्डको नीति न्यायोचित नभएको बताउनुभयो। अध्यक्ष खड्काले विदेशी फिल्म ल्याउँदा त्यसको कर होलसेलमा लिने नीतिले देशलाई घाटा हुने बताउनुभयो। 

उहाँले चलचित्र व्यापार मात्रै नभएको भन्दै भाषा, संस्कृति, कला, भेषभुषा, राष्ट्रको बिम्ब भएको बताउनुभयो। उहाँले कला, साहित्य देशको मेरुदण्ड भएकाले व्यापारको नाममा सहजै विदेशी चलचित्रलाई निर्यात गरेर नेपाली चलचित्रलाई अप्ठ्यारो पार्ने स्थिति बन्द गर्नुपर्ने बताउनु भयो। उहाँले नेपाली फिल्महरू हलमा चलेको पहिलो दिन नेपाली फिल्महरूलाई ६० प्रतिशतसम्म हलहरू उपलब्ध गराउनुपर्ने माग राख्नुभयो। 

अध्यक्ष खड्काले नेपाली चलचित्रमा लिइँदै आएको स्थानीय कर छुट गर्नुपर्ने र स्थानीय कर छुट निर्मातालाई फिर्ता दिनुपर्ने माग गर्नुभयो।