• ८ वैशाख २०८१, शनिबार

युट्युब पत्रकारका कारण निर्माताहरु मर्कामा परे : अध्यक्ष भुवन केसी

blog

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी

गोरखापत्र अनलाइन

काठमाडौं, पुस २९ गते । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले युट्युब पत्रकारहरूले सिनेमाको दृश्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्माताहरूलाई मर्का परेको बताउनु भएको छ । 

उहाँले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको छ, त्यस्ता क्रियाकलाप गर्नेलाई जरिवाना र फिल्ममा हुने क्षति तिराउने गरी कानुन निर्माण गर्न लागिएको जानकारी पनि दिनुभयो ।  

शुक्रवार काठमाडौंमा भएको चलचित्र निर्माताहरूको वृहत् भेला तथा छलफल अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । 

उहाँले पछिल्लो समय नेपाली फिल्म बनाउन धेरै नै गाह्रो भइरहेको बताउनु भयो । 

उहाँले चलचित्र निर्माणका लागि स्टुडियो, प्रहरीको भ्यानलगायतका स्वीकृति लिन नै झन्झट व्यहोर्नुपरेको बताउनु भयो । 


अध्यक्ष केसीले नेपाली निर्माताहरु फिल्म निर्माणका लागि घरखेत बेचेर लाग्ने गरेको तर युट्युब पत्रकारहरुले सिनेमाको दृश्य पहिल्यै खिचेर सार्वजनिक गरिदिँदा निर्माताहरुलाई ठूलो क्षति भइरहेको छ भन्नुभयो । 

उहाँले कुनै पनि व्यक्तिले अमर्यादित क्रियाकलाप गरेको खण्डमा कडा सजाय दिने मात्र नभई जरिवाना र फिल्ममा परेको क्षतिपूर्ति तिराउन सरकारसँग माग गरिएको बताउनु भयो । 

अध्यक्ष केसीले भन्नुभयो, ‘नेपाली फिल्म बनाउन धेरै गाह्रो भइरहेको छ । कुनै बेला स्टुडियो हुँदैन, प्रहरीको भ्यान चाहिन्छ, त्यो स्वीकृति लिँदालिँदै सात दिन लाग्छ । सुटिङ अहिले ड्रोन नभई हुँदै हुँदैन, त्यो अनुमति लिन जाँदा ४ ठाउँ पुग्नुपर्छ । यो समस्या छ ।’’ 

अध्यक्ष केसीले चलचित्र विकास बोर्डको अध्यक्ष भएर आएको ५-६ महिना मात्रै भएको भन्दै आफूलाई विभिन्न मुद्दा हालेर काम गर्न नदिएको गुनासो गर्नुभयो । 

उहाँले आफू कुन बेला निस्किन्छ र म चलचित्र विकास बोर्डको अध्यक्ष बनौँ भन्ने लोभ गर्ने मान्छेहरुले काम गर्न नदिएको बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा चलचित्र विकासका लागि राम्रा काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले चलचित्र क्षेत्रलाई प्रवद्र्धन गर्न सबै निर्माताहरु एकजुट हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘म त आएको भर्खर ५–६ महिना भयो, आएदेखि राम्रा काम गर्छु भनेर लाग्यो के के भइदिन्छ बीचमा । मुद्दाहरु हाल्नुभएको छ, अदालतमा पनि जानैपर्छ । कोही साथीहरुलाई कुनबेला यो यहाँबाट जान्छ र म आऔँ भन्ने भएको छ । मेरो उमेरमा अरु त रिटार्यमेण्टमा हुन्छ, म त भर्खर केही गरौँ भनेर आइरहेको छु । विकास बोर्डमा रहेसम्म कलाकारिता क्षेत्रको हक र हितका लागि केही गरेर नै बस्नेछौँ । निर्माताहरु एकजुट भएर अघि बढेमा हामी सफल हुनेछौँ ।’’ 

अध्यक्ष केसीले चलचित्र विकास बोर्डका लागि आवश्यक बजेट सरकारले दिन नसकेको गुनासो गर्नुभयो ।