न्यायाधीश सिफारिश गर्न परिषद् असफल

नारायण काफ्ले

काठमाडौँ, फागुन ३ गते । न्यायाधीश नियुक्तिको प्रमुख कार्यसूचिसहित बसेको न्याय परिषद् बैठक न्यायाधीश सिफारिस गर्न असफल भएको छ । परिषद्का दुई सदस्यको असन्तुष्टि र कानुनमन्त्रीको पदीय हैसियतमा प्रश्न उठेपछि बैठक निष्कर्षविहीन बनेको हो । न्यायाधीश सिफारिसको पक्षमा बहुमत पुग्न नसकेपछि परिषद्को अर्को बैठकको मिति पनि तोकिएन ।
सर्वोच्च, उच्च अदालत र जिल्ला अदालतमा गरी २० न्यायाधीश सिफारिश गर्ने कार्यसूचिसहित बुधबार परिषद् बोलाइएको थियो । बिहान साढे १० बजेका लागि बैठक बोलाइए पनि दिउँसो २ बजे मात्र बसेको थियो । ढिलागरी बसेको बैठकमा वरिष्ठतम सदस्य दीपकराज जोशी अनुपस्थित हुनुभयो । जोशी माघ अन्तिम साताबाट बिदामा बस्नुभएको छ ।
अर्का सदस्य पदमप्रसाद वैद्धिकले पनि नियुक्ति प्रक्रियामा प्रश्न उठाएपछि बैठक निश्कर्षबिहीन भएको हो । ‘न्यायाधीश सिफारिस गर्ने नै मुख्य कार्यसूची थियो । तर, सिफारिस हैन प्रक्रियामा नै प्रश्न उठेपछि अन्य विषयमा प्रवेश भएन’ परिषद सदस्य वैद्धिकले भन्नुभयो ।
बरिष्ठतम सदस्य जोशी विदामा रहनुभएको र कानुनमन्त्री यज्ञबहादुर थापाको हैसियत काम चलाउ मात्र भएकाले निर्णयको प्रक्रियामा बैठकमा प्रश्न उठेको थियो ।
यसअघि माघ २० गते उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्तिका समयमा पनि कानुनमन्त्रीका विषयमा प्रश्न उठेको थियो । तर, न्यायाधीश सिफारिस भएका थिए । उक्त सिफारिसमा समावेशी नभएको भन्दै वरिष्ठतम न्यायाधीश जोशीको फरक मत रहेको थियो ।
बुधबार सर्वोच्चमा रिक्त १, उच्च अदालतमा ११ र जिल्ला अदालतमा ८ न्यायाधीश सिफारिसको तयारी थियो । सर्वोच्चमा हाल एक न्यायाधीशको पद रिक्त छ । उच्च अदालतमा मुख्य र न्यायाधीश गरी ११ पद रिक्त छ । जिल्ला तहमा ३८ न्यायाधीशको दरबन्दी रिक्त छ । ३८ मध्ये ३० जनाको पदपूर्ति खुला प्रतिस्पर्धाबाट भइरहेको छ । बाँकी आन्तरिक आठजनाको ज्येष्ठताका आधारमा बढुवा हुनेछ ।
न्यायाधीशको काज तोकियो 
यसैबीच, परिषद्को बुधबारको बैठकले उच्च अदालत तुलसीपुरको वुटवल इजलासमा कार्यरत न्यायाधीश प्रभा बस्नेतलाई राष्ट्रिय न्यायिक प्रतिष्ठानमा काज तोकिएको छ । बस्नेतलाई काजमा राख्ने गरी माघ ८ गते प्रधानन्यायाधीश गोपाल पराजुलीले गर्नुभएको निर्णयलाई परिषद्ले निरन्तरता दिएको हो ।
यस्तै, उच्च अदालत सुर्खेत जुम्ला इजलासमा कार्यरत सबै न्यायाधीशहरुलाई फागुन १५ गतेसम्म उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासमा काजमा राखिएको छ । यसअघि माघ मसान्तसम्म काजमा राख्ने निर्णयलाई परिषदले १५ दिन थप गरेको हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds