• १६ चैत २०८०, शुक्रबार

नेपाल राष्ट्र बैँकको पाँच महिनाको समीक्षा

नेपालको अर्थतन्त्र सुधारतर्फ

blog

विष्णु पाण्डेय

काठमाडौं, पुस २९ गते । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७९-८० को पहिलो पाँच महिनाको तथ्याङ्क शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्क अनुसार देशको अर्थतन्त्रको अवस्था सुधार देखिएको छ । 

पाँच महिनाको समीक्षा अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ९५ अर्ब एक करोडले घाटामा रहेको थियो । 

अमेरिकी डरलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको छ । 

राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । आयात २०.७ प्रतिशतले घट्दा निर्यात ३४.६ प्रतिशतले कमी आई ६७ अर्ब ३० करोड भएको छ ।

अघिल्लो वर्षको सोही समयमा पछिल्लो पाँच महिनामा १०५.६ प्रतिशतले बढेको थियो । गन्तव्यको आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४३.७ प्रतिशत र ३५.९ प्रतिशत कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ७.१ प्रतिशतले वृद्धि भएको छ । व्यापार घाटा १८.८ प्रतिशतले घटेको छ । 

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालमा भित्रने रेमिट्यान्स २३ प्रतिशतले बढेको छ । 

वस्तुगत आधारमा जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, अलैँची, चियालगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको छ । 

आर्थिक वर्ष २०७९-८० को पाँच महिनामा कुल वस्तु आयात २०.७ प्रतिशतले कमी आई छ खर्ब ६४ अर्ब ७५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५९.५ प्रतिशतले बढेको थियो । 

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सङ्घीय सरकारको कुल खर्च चार खर्ब ३५ अर्ब २१ करोड भएको छ । समीक्षा अवधिमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय खर्चतर्फ क्रमशः तीन खर्ब ५४ अर्ब २६ करोड, ३३ अर्ब ९९ करोड र ४६ अर्ब ९६ करोड छ ।

यस अवधिमा सङ्घीय सरकारको राजश्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँड हुने रकम समेत) गरी तीन खर्ब २६ अर्ब ८९ करोड भएको  छ । यसअन्तर्गत कर राजश्वतर्फ तीन खर्ब एक अर्ब ४६ करोड र गैर कर राजश्वतर्फ २५ अर्ब ४३ करोड परिचालन भएको छ । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २०.० प्रतिशत, २२.६ प्रतिशत र २१.४ प्रतिशतले कमी आएको छ । 

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, सुन, रासायनिक मल,  हवाइजहाजका स्पेयर पार्टस्लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एमएस विलेट, चाँदी, औषधी, कच्चा सोयाविन तेललगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।