• ६ वैशाख २०८१, बिहिबार

घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश

blog

वामपन्थी नेता घनश्याम भुसाल । तस्बिर : कविन अधिकारी

काठमाडौं, पुस २९ गते। वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्नुभएको छ। शुक्रबार एक औपचारिक कार्यक्रममा पूर्व नेकपा (एमाले) नेता भुसाल समाजवादीमा प्रवेश गर्नुभएको हो। 

समाजवादी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव डा. वेदुराम भुसाल लगायतका नेताले पार्टी प्रवेश गराउनुभएको हो। समाजवादी प्रवेश कार्यक्रममा बोल्दै भुसालले आफ्ना सबै सम्बन्ध सैद्धान्तिक कारणले बनेको र सैद्धान्तिक कारणले नै बिग्रने गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, “लोकतन्त्रमा खतरा छ। यी सबै खतराविरुद्ध लड्न उठौँ, जागौँ। धेरै मान्छेका लागि दुनियाँमा सङ्गठित गर्ने कुरा, मेरा सम्बन्ध सैद्धान्तिक कारणले बनेका छन् या बिग्रेका छन्। मेरो निजी मागका कारण, हैसियतका कारण कसैसँगको सम्बन्ध बिगारेको वा सुधारेको छैन। म भाग्यमानी नै ठान्छु। कतिले तँ बर्बाद भइस् पनि भन्छन्, यो जिन्दगीलाई यस्तै भइयो।”

मुलुकमा मूल्यहीन तर लोकप्रिय हुने कुरा अगाडि देखिएको भन्नुहुँदै उहाँले आगामी दिनमा बुद्धिमत्ता एवम् दृढतापूर्वक अघि बढ्नुपर्ने औँल्याउनुभयो। “हिजोका भन्दा अझै धेरै आत्मीयता, मायाका साथ अघि बढ्ने विश्वास लिएको छु। मेरो सदस्यता रिन्युका लागि पनि अनुरोध गर्दछु”, उहाँले भन्नुभयो।