• १६ चैत २०८०, शुक्रबार

सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित

blog

बगैंचामा सुक्दै गएका सुन्तलाका बोट । तस्बिर : कविराज घिमिरे

कबिराज घिमिरे

हिले, पुस २९ गते । धनकुटा नगरपालिका –५ का कृषक सरोज आठपहरियाले केही वर्षअघि आफ्नो बारीमा लगाएको सुन्तला नष्ट गरी एभोकाडो लागाउनुभयो । केही वर्षअघि आफ्ना बुवा हजुरबुवाले लगाएको सुन्तला बगैंचा नष्ट गर्नुभयो । त्यसको एकमात्र कारण हो सो ठाउँमा सुन्तलाको बगैंचामा विभिन्न समस्या देखिएर बगान नै मासिनु । 

यहाँ आसपासको क्षेत्रमा केही वर्ष अघिसम्म राम्रो सुन्तला खेती हुनेगरेको थियो । तर पछिल्लो समय विभिन्न रोग र कीराका कारण बगैंचा नै सखाप भएपछि अहिले राइको जस्तै सो क्षेत्रमा अहिले कसैको बारीमा पनि सुन्तला छैन । करिब ११ सय मिटरको उचाइमा रहेको यो स्थानमा अहिले सुन्तलाको नामोनिसान पाइँदैन । नयाँ प्रजाति तथा उपचार गर्दा समेत सुन्तला जोगाउन नसकिएको स्थानीयको चिन्ता छ । 

सुन्तला खेतीमध्ये पहाडमा राम्रोसँग खेती गर्न सकिने एक फलफूल बाली हो । धनकुटामा यो खेती आठसय मिटरको उचाइदेखि हुनेगरेको थियो । तर पछिल्लो समय यो बाली उच्च क्षेत्रतर्फ बढ्दैगएको तथ्याङ्कले देखाउँछ । कृषि ज्ञान केन्द्र धनकुटाको तथ्याङ्कअनुसार धनकुटाको शहीदभूमि गाउँपालिका खोकु तथा छिन्ताङमा करिब आठ सयदेखि नौसय मिटरको उचाइमा सुन्तला खेती हुनेगरेको थियो । 

पछिल्लो समय सो क्षेत्रमा सुन्तला खेती हुन छाडेको छ । अहिले त्यहाँ करिब एक हजार मिटरभन्दा माथिमात्र हुनेगरेको छ । यहाँजस्तै धनकुटाका करिब ११ सय र त्यो आसपासभन्दा तल्लो क्षेत्रमा विभिन्न समस्या देखिन थालेको कृषकको गुनासो छ । बोट सुक्ने जरा कुहिने सुन्तलाको आकार घट्दै जाने, फल्दै नफल्नेलगायतका समस्या हुनेगरेको कृषकको गुनासो छ । 

 जलवायु परिवर्तन आदिका कारणले सुन्तला तल्लो क्षेत्रबाट माथिल्लो क्षेत्रतर्फ बढी फल्न थालेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले बताउनुभयो । पहिले स्थानअनुसार ८ सय मिटरसम्म सुन्तला हुनेगरेको थियो, तर अहिले ११ सय मिटरभन्दा तल खेती नै मासिएको छ ज्ञान केन्द्र धनकुटाका प्रमुख मगरले भन्नुभयो । 

सुन्तला मासिनुमा जलवायु परिवर्तनको असर मात्र नभएर कृषकको आफ्नै कारण पनि रहेको उहाँको भनाइ छ । “जलवायु परिवर्तनसंगै बगान व्यवस्थापनमा ध्यान नदिंदा समस्या भएको हो” प्रमुख मगरको भनाइ छ । ज्ञान केन्द्र धनकुटाका अनुसार धनकुटामा आर्थिक वर्ष २०७७–७८ मा १ हजार ६४ दशमलम ७० मेट्रिक टन, गत वर्ष १ हजार ५६ दशमलम ७२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष २० प्रतिशतले उत्पादन घट्ने कार्यालयको अनुमान छ ।