• ६ वैशाख २०८१, बिहिबार

बागमतीको सभामुखमा राप्रपाका पाठक निर्वाचित

blog

बागमती प्रदेशको प्रदेश सभा सभामुखमा निर्वाचित भुवन पाठक । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, पुस २९ गते ।
बागमती प्रदेशको प्रदेश सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठक निर्वाचित हुनुभएको छ ।  प्रदेश सभामुखका लागि शुक्रबार भएको निर्वाचनमा पाठकले ६२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हाे। प्रदेश सभामुखको निर्वाचन दस्तखतसहितको मत विभाजनबाट गरिएको थियो । पाठकलाई नेकपा (एमाले), नेकपा (माओवादी) केन्द्र र हाम्रो नेपाली पार्टीको समर्थन थियो ।

११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३ र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य रहेका छन् । पाठकको विपक्षमा ३९ मत र तटस्थमा सात जनाको मत परेको थियो ।

यस्तै, नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभामुखमा उम्मेदवार बन्नुभएका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रदेश सभामुखका उम्मेदवार सिर्जना सायजु उम्मेदवार रहनुभएको थियो ।

प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रदेश सभामुखका लागि दस्तखतसहितको मत विभाजनबाट गरिएको निर्वाचनको परिणाम सार्वजनिक गर्दै राप्रपाका पाठक निर्वाचित भएको जानकारी गराउनुभएको थियो ।

यसअघि नेमकिपा प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले पार्टीका तर्फबाट प्रदेश सभामुखमा प्रदेश सभा सदस्य सायजुको प्रस्ताव राख्दै हामी प्रजातन्त्रको पक्षमा छौं र हामी प्रतिगमन गर्नेछैनौं भन्नुभयो । गोसाईले राख्नुभएको प्रस्तावको प्रदेश सभा सदस्य गोमा काफ्लेले समर्थन गर्नुभएको थियो ।

यस्तै, कांग्रेसका प्रदेश सभाका सदस्य कुन्दनराज काफ्ले प्रतिपक्षको सम्मानका लागि आफूहरुले सभामुखका लागि गरेको प्रदेश सभा सदस्य शिवराज अधिकारीको पक्षमा मतदान गर्न आग्रह गनुभएको थियो । अधिकारी उम्मेदवारीको प्रस्तावप्रति प्रदेश सभा सदस्य रामकृष्ण चित्रकारले समर्थन गर्नुभएको थियो ।

यसैगरी, नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले वरिष्ठ राजनीतिज्ञ र लामो सङ्घर्ष गरेर आउनुभएका राप्रपाका भुवन पाठकलाई प्रदेश सभामुखका निर्वाचित गर्न भन्दै प्रस्ताव गर्नुभयो । पाठकको उम्मेदवारीप्रति नेकपा (माओवादी केन्द्र) का युवराज दुलालले समर्थन गर्दै निर्वाचित गर्न आग्रह गर्नुभएको थियो ।

बैठकको अध्यक्षता गर्नुभएका प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले मन्त्रिमण्डल गठन तथा कार्यविभिजनसम्बन्धी प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । साथै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनका लागि आगामी माघ ३ गते १२ः३० बजेका लागि तय भएको जानकारी गराउनुभयो ।

प्रदेश सभामुखमा निर्वाचित पाठकले आज (शुक्रबार) नै बागमती प्रदेशका प्रमुख प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ । नेपालको संविधानले प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्रमा प्रदेश सभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।