• ८ वैशाख २०८१, शनिबार

मुद्दा दर्तापछि अभियुक्त फरार

blog

जीवछ यादव

लहान, पुस २९ गते । सुखीपुर नगरपालिका –३ कुशहाकी २५ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरी गर्भ बोकाएको आरोपमा मुद्दा दर्ता भएपछि चन्दन यादव फरार भएका छन् । २२ वर्षीय यादवमाथि इलाका प्रहरी कार्यालय पतारीले मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएपछि प्रहरीले खोजी गर्दा यादव फरार भएकाले प्रहरीले नियन्त्रणमा लिन सकेको छैन ।  

मुद्दा दर्ता भएलगतै यादव फरार भएपछि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन ।  पीडित युवतीको डीएनए परीक्षणपछि थप कानुनी प्रक्रिया अघि बढाइने इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिनुभयो । 

एउटा खुट्टा अपाङ्ग र सुस्त मनस्थितिकी युवती पाँच महिनाअघि खेतमा बाख्रा चराउन गएको मौका छोपी बलात्कृत भएपछि उहाँको गर्भ रहन गएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । गर्भ बसेको तीन चार महिनापछि पेट ठूलो हुन थालेपछि बाख्रा चराउन जाने गाउँका महिलाले सोधपुछ गरी गर्भवती भएकोबारे जानकारी गराएका थिए ।

पीडितका आमाबुवाले अभियुक्त चन्दन यादवका आमाबुवालाई जबर्जस्ती करणी गरेको बारेमा छलफल गरेपछि उल्टै हप्काइ खाएको पीडितले बताएका छन् । इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा जबर्जस्ती करणीको पन्ध्र दिनअघि नै निवेदन दिए पनि प्रहरीले चासो नदिएको स्थानीय गुमस्ता यादवले बताउनुभयो । 

जर्बजस्ती करणीका मुद्दाहरु समाजमा मिलाउने राजनीतिक दबाब पर्ने विगतका अनुभव सुनाउँदै महिला अधिकारकर्मी रेणु कर्णले भन्नुभयो, ‘पीडित युवतीको न्यायका लागि महिला अधिकारकर्मीले आवाज उठाइरहेका छौं । पीडित पक्षला न्याय दिलाउन सरोकारवाला सबैकाे सहयोग आवश्यक छ ।’ 

पीडित युवतीबारे प्रहरीबाट जानकारी पाएको सुखीपुर नगरपालिका –३ का वडाध्यक्ष हरेराम यादवले बताउनुभयो । उहाँको अनुसार ज्याला मजदुरी गरेर गुजारा गर्ने विपन्न परिवारको चेलीमाथि भएको यो अन्यायमा दोषी ठहरिनेले कानुनी कारवाही भोग्नुपर्ने उहाँले बताउनुभयो ।